लिमा, ३ माघ/एएफपी

पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।

राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतवार आपत्कालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको विरोधमा हप्तौंदेखि जारी प्रदर्शन कम हुने कुनै सङ्केत देखिएको छैन ।

राष्ट्रपति नयाँ निर्वाचन र बोलुआर्टेको राजीनामाको माग गर्दै  भएका प्रदर्शनमा झडप हुँदा कम्तीमा ४२ जनाको मृत्यु भएको पुष्टि पेरूका मानव अधिकार आयुक्तले गरेका छन् ।

गत डिसेम्बर ७ मा पेड्रो क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले दक्षिण अमेरिकी यो देशको पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेकी थिइन् ।

वामपन्थी पूर्व ग्रामीण विद्यालयका शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महीनाको कार्यकालमा संसद्मा चर्काे विरोधको सामना गर्नुपरेको थियो भने उनीविरुद्ध भ्रष्टाचारका आरोपबारे थुप्रै आपराधिक अनुसन्धान शुरू भएका छन् ।

सरकारले लिमा, कुस्को, कालाओ र पुनो क्षेत्रमा शनिवार मध्यरातदेखि ३० दिनका लागि सङ्कटकालीन अवस्था थप गरेको छ ।

सङ्कटकालको घोषणाले आवागमन र भेला हुने स्वतन्त्रता जस्ता संवैधानिक अधिकारलाई पनि निलम्बन गरेको राजपत्रमा प्रकाशित आदेशमा उल्लेख छ ।

पेरूका २५ क्षेत्रमध्ये ११ क्षेत्रमा आइतवार १०० भन्दा बढी सडक अवरुद्ध भएका छन् ।

बोलिभियासँग सीमा जोडिएको जुलियाका शहरमा आइतवार लिमाको केन्द्रीय गिर्जाघरमा प्रदर्शनकारी र एक प्रहरीलाई जिउँदै जलाइएकामा आयोजित सामूहिक प्रार्थनासभामा दर्जनौं मानिस सहभागी थिए ।

शोक मनाइरहेकाहरूमध्ये धेरैले शान्तिको प्रतीकको रूपमा सेतो टिशर्ट लगाएका थिए र मरेकाहरूको फोटो बोकेका थिए ।

लिमाका धर्मगुरु कार्लोस क्यास्टिलोले स्पेनी र क्वेचुआ आदिवासी भाषामा सेवाको नेतृत्व गरेका छन् । यो अशान्ति मुख्यतया दक्षिणी एन्डिजमा केन्द्रित छ, जहाँ क्वेचुआ र आइमारा समुदायको बसोबास छ ।

मानव अधिकारसम्बन्धी अन्तर–अमेरिकी आयोगले सङ्कटको अन्त्यका लागि यी समूहहरूलाई पेरूको समाजमा अझ राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको बताएका छन् ।

क्षेत्रीय प्रशासनका उपमन्त्री जोसे मुरोले आइतवार टिभी पेरूसँग कुरा गर्दै अनुत्तरित सामाजिक मागहरूबारे छलफल गर्न सरकारले देशव्यापीरूपमा ‘वार्ताका लागि ठाउँ’ सिर्जना गर्ने बताएका छन् ।

उनले भने, “हाम्रा दाजुभाइलाई भन्नुहोस् कि यो हप्ता हामी मागहरू पूरा गर्न वार्ताको लागि ठाउँहरू स्थापना गर्न चाहन्छौं ।”

यसैबीच लिमाका साथै सीमान्तकृत दक्षिणी एन्डियन क्षेत्रमा सोमवारका लागि व्यापक प्रदर्शनको घोषणा गरिएको छ ।

शनिवार राति दर्जनौं प्रदर्शनकारी राजधानीको मिराफ्लोरेस जिल्लामा ‘शहरकब्जा’को माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।

प्रसिद्ध माचू पिचु क्षेत्रको प्रवेशद्वार कुस्कोको विमानस्थल दुर्ई दिनअघि बन्द भएपछि शनिवार पुनः खोलिएको थियो ।

पेरू वर्षाैंदेखि राजनीतिकरूपमा अस्थिर छ र ६० वर्षीया बोलुआर्टे पाँच वर्षमा छैटौं राष्ट्रपति बनेकी हुन् ।

क्यास्टिलोलाई विद्रोहलगायत अन्य अपराधका अभियोगमा १८ महीनाको हिरासतमा राखिएको छ ।

प्रदर्शनमा साइनिङ पाथ कम्युनिस्ट गुरिल्ला समूहका अवशेषसहित कट्टरपन्थी समूहको हात रहेको अधिकारीहरूले दाबी गरेका छन् ।

यसको प्रमाणको रूपमा तिनीहरूले त्यस सङ्गठनका पूर्वसदस्य कामरेड कुसी भनिने रोसियो लियान्ड्रोलाई यसै हप्ता पक्राउ गरेका थिए ।

प्रहरी प्रवक्ता जनरल ओसकार एरिओलाका अनुसार लियान्ड्रोले अयाकुचो क्षेत्रमा एक दर्जनको ज्यान जाने गरी भएको हिंसामा आर्थिक सहयोग गरेका थिए । उनले लियान्ड्रोलाई ‘माक्र्सवादी, लेनिनवादी, माओवादी’ हत्यारा भएको दाबी गरे । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here