• राजेश मिश्र

‘हर हर बम बम’ जोडजोडले उच्चारण गर्दै र शिरमा पानी खन्याउँदै एकजना स्नान गरिरहेका थिए । तीव्र गतिमा जीउ मल्दै, “गज्जब ठन्डा बा हो दादा” भनिरहँदा उनको दाँत खटखट गरिरहेको थियो । नजीकै अर्का एकजनाले परालको आगो बाल्दै भने, “का झूटो के थरथर काँप तार, कौआ स्नान करके आव आ आगी ताप ल, जाड भाग जा ।” मकर सङ्क्रान्तिको अवसरमा स्नान गर्ने मानिसहरूको भीड लागेको थियो ।

सनातन संस्कृतिको अभूतपूर्व पर्व मकर सङ्क्रान्ति माघ १ गते आइतवारका दिन मनाइँदै छ । खगोल विज्ञानका अनुसार पृथ्वीको अक्षको २३.५ डिग्री झुकावका कारण सूर्य पृथ्वीको उत्तरी गोलार्धतर्फ छ महीना तथा बाँकी छ महीना दक्षिणी गोलार्धको नजीक हुन्छ । मकर सङ्क्रान्तिअघि सूर्य दक्षिणी गोलार्धको नजीक हुन्छ । अर्थात् उत्तरी गोलार्धबाट अपेक्षाकृत टाढा रहेको कारण उत्तरी गोलार्धमा रात लामो र दिन छोटो हुन्छ । तर मकर सङ्क्रान्तिदेखि सूर्य उत्तरी गोलार्धतर्फ सर्न थाल्छ । त्यसैले मकर सङ्क्रान्तिदेखि उत्तरी गोलार्धमा रात छोटो र दिन लामो हुन थाल्छ ।

विश्वव्यापी जनसङ्ख्याको ९० प्रतिशत बसोबास पृथ्वीको उत्तरी गोलार्धमा छ । भनिन्छ कि प्राचीनकालमा पृथ्वीको मेरिडियनभन्दा माथि अर्थात् उत्तरी गोलार्धलाई भूलोक र पृथ्वीको मेरिडियनको तल्लो अर्थात् दक्षिणी गोलार्धलाई पाताललोक भनिन्थ्यो । तसर्थ मकर सङ्क्रान्ति एक यस्तो खगोलीय घटना हो, जसले सम्पूर्ण पृथ्वीमा नयाँ ऊर्जा, आनन्द र शक्तिको सञ्चार गर्दछ ।

मकर सङ्क्रान्ति पर्वमा तिलको विशेष महत्व हुन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा तिललाई धेरै फाइदाजनक मानिन्छ । कफनाशक तथा पुनस्र्थापना गर्ने औषधिको रूपमा तिललाई चिनिन्छ । मकर सङ्क्रान्तिको दिन तिल, भुजा, चिउरा, बदाम, रामदाना आदिको लड्डुले जाडोमा न्यानोपन प्रदान गर्ने हुनाले मकर सङ्क्रान्तिको दिन विशेषतः यसको प्रयोग गरिन्छ ।

मकर सङ्क्रान्ति पर्वबारे विभिन्न व्यक्तित्वहरूसँग गरिएको संवादको संक्षिप्त अंश प्रस्तुत छः–

 

पण्डित जीतेन्द्र पाण्डेय (राधेमाई, वीरगंज)

रवेः सङ्क्रमणं राशौ सङ्क्रान्ति रिति कथ्यते ।

स्नान दान तपः श्राद्ध होमदिषु महाफला ।।

अर्थात् मकर सङ्क्रान्तिको दिन स्नान, दान, यज्ञ, तपस्या र श्राद्ध कार्य गर्नाले उत्तम फल प्राप्त हुन्छ ।

मकर सङ्क्रान्ति किन मनाइन्छ ? किनभने यो दिन भगवान् सूर्यलाई समर्पित छ । हिन्दू पञ्चाङ्ग अनुसार मकर सङ्क्रान्तिले विशिष्ट सौर्य दिवसलाई सन्दर्भित गर्छ । सङ्क्रान्ति भनेको सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने प्रक्रिया हो । एक सङ्क्रान्तिदेखि अर्को सङ्क्रान्तिबीचको समयलाई ‘सौर्यमास’ भनिन्छ । एक वर्षमा १२ वटा सङ्क्रान्ति पर्छन् । तीमध्ये मेष, कर्कट, तुला र मकर राशिमा सूर्यदेवको प्रवेश बढी महत्वपूर्ण मानिन्छ । माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ, जसलाई मकर सङ्क्रान्ति भनिन्छ ।

हिन्दू पञ्चाङ्गमा चन्द्रमाको गतिलाई आधार मानेर तिथिहरू निर्धारण गरिन्छन् । तर मकर सङ्क्रान्ति निर्धारण गर्नको लागि सूर्यको गतिलाई आधार मानिन्छ । मकर सङ्क्रान्ति हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाडपर्वमध्ये एक हो । मङ्सिर महीनाको समाप्तिसँगै खरमास शुरू हुन्छ । त्यस कारण पुस महीनामा माङ्गलिक कार्य गरिंदैनन् । मकर सङ्क्रान्तिपछि पुनः सुचारु हुन्छ ।

नेपाल तथा भारतका साथै विश्वका समस्त हिन्दू धर्मावलम्बीहरूका लागि मकर सङ्क्रान्ति विशिष्ट पर्व हो । मकर सङ्क्रान्तिलाई स्थान अनुसार अनेक नामले सम्बोधन गरिन्छ । मधेसी समुदायले मकर/माघे सङ्क्रान्तिलाई सङ्क्रान्ति, खिंचडी वा लाई–तिलुवा आदि नामले सम्बोधन गरेको पाइन्छ ।

पौराणिक मान्यता

शनिदेव मकर राशिका स्वामी भएकोले यस दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । हिन्दूशास्त्रका अनुसार यस दिनबाट देवताहरूको दिन गणना शुरू हुन्छ । सूर्यदेवको छ महीनाको दक्षिणायन अवस्थितिलाई देवताहरूको रात र उत्तरायणको छ महीनालाई दिन मानिन्छ । दक्षिणायन नकारात्मकताको र उत्तरायण सकारात्मकताको प्रतीक हो ।

श्रीमद् भागवत गीताको अध्याय ८ मा भगवान् श्रीकृष्णले उत्तरायणको छ महीनामा शरीर त्याग गर्नेले ब्रह्मगति प्राप्त गर्ने र दक्षिणायनको छ महीनामा शरीर त्याग गर्नेले संसारमा फर्केर पुनः जन्म र मृत्यु प्राप्त गर्ने उल्लेख छ ।

अग्निज्योतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।

तत्र प्रयाता गच्छन्ति ब्रहम ब्रहमविदो जनाः ।।

धूमो रात्रिस्तथा कृष्ण षण्मासा दक्षिणायनम् ।

तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते ।।

शुक्ल कृष्णे गति ह्येते जगतः शाश्वते मते ।

एकया  यात्यनावृत्ति  मन्ययावर्तते  पुनः ।।

यही कारणले भीष्म पितामह मकर सङ्क्रान्तिको पर्खाइमा अपार पीडाका बावजूद मृत्यु शøयामा सुतिरहेका थिए । उत्तरायण लागेपछि पितामहले शरीर त्यागेर इच्छा मृत्यु प्राप्त गरे । उत्तरायणलाई अत्यन्त पवित्र पक्षका रूपमा लिइन्छ ।

मकर सङ्क्रान्तिको दिन गङ्गामाता भागीरथलाई पछ्याउँदै कपिलमुनिको आश्रम हुँदै सागरमा गएर भागीरथका पुर्खा महाराज सागरका छोराहरूलाई स्वतन्त्रता दिलाएकी थिइन् । प्रयागराजमा १२ वर्षमा एकपटक लाग्ने कुम्भ मेला तथा प्रत्येक वर्ष लाग्ने माघी मेलाको पहिलो स्नान मकर सङ्क्रान्तिको दिनदेखि शुरू हुन्छ ।

एक अर्को प्रसङ्ग छ । भगवान् शिवले नन्दीलाई पृथ्वीलोकमा गएर प्रत्येक दिन नुहाउने र महीनाको एकपटक भोजन गर्ने आज्ञा दिनुभएको रहेछ । तर नन्दीले ठीक उल्टो प्रत्येक दिन भोजन र महीनामा एकपटक नुहाउने बुझेर त्यसैगरी गर्न थालेछन् । नन्दीको कृत्य देखेर भगवान् शिव क्रोधित हुनुभयो । त्यस उपरान्त भगवान् भोलेनाथले नन्दीलाई पृथ्वीलोकमा गएर किसानहरूलाई कृषि कार्यका लागि हलो जोत्न जाने आज्ञा दिनुभयो । यसरी नन्दीको गोरुको रूपमा मकर सङ्क्रान्तिको दिन पृथ्वीलोकमा आगमन भएको प्राचीन मान्यता छ । त्यस कारण वैदिक सनातन संस्कारमा गोरुलाई भगवान्को उपहारस्वरूप विभिन्न चाँडबाडमा पूजाअर्चना गर्ने चलन छ ।

मकर सङ्क्रान्तिको अवसरमा पशुपतिनाथस्थित वाग्मती नदी, चितवनको देवघाट, नवलपरासीको त्रिवेणीधामलगायत नेपालका विभिन्न तीर्थस्थलहरूमा भक्तजनहरूको स्नानादि कार्यका लागि घुइँचो लाग्छ । त्यसैगरी, भारतको पटनास्थित गङ्गाघाट, सोनपुरस्थित हरिहरघाट, हरिद्वार, वाराणसी र बङ्गालस्थित गङ्गासागरलगायत विभिन्न धार्मिक तीर्थस्थलमा भव्य मेला लाग्छ । मकर सङ्क्रान्तिको दिन नदीमा स्नान गरी दान गर्नाले पापमोचन हुनुका साथै पुण्य प्राप्त हुन्छ ।

ब्रह्म वैवर्त पुराणमा भनिएको छ–

तिलमयिं राजन् दध्याध्यश्च उत्तरायणे ।

सर्वान् कामानवाप्नोति विन्दते परमं सुखम् ।।

अर्थात् मकर सङ्क्रान्तिमा तिल ग्रहण र दान गर्दा इच्छित मनोकामना पूर्ण हुन्छ ।

कन्हैया पटेल, (वीमनपा–२४, रामगढवा)

खिंचडी पर्वको महातम्य अतुलनीय छ । विजय पटेल, जङ्गबहादुर पटेल, शिव पटेल र उमेश पटेललगायत हामी साथीहरू नाता र उमेरमा भिन्नता भएपनि हामी ‘एकतुरिया’ (समान उमेरका) थियौं । नुहाइसकेपछि चामल, दाल, आलु/भन्टा मध्ये एक वा दुवै र पैसा आदि दान गर्ने सामग्री हातमा जल लिएर सूर्यदेवलाई अर्पण गरिन्थ्यो । त्यसपछि लाई–तिलुवा र खिंचडी खान पाइन्थ्यो । सामान्य समयको तुलनामा मकर सङ्क्रान्तिको दिन रहरको दाल, चामल र अदुवा मिश्रित खिंचडीमा घ्यू हालेर विशेष प्रकारको खिंचडी पकाइन्छ । यस प्रकारको खिंचडीको स्वाद गज्जब मीठो हुन्छ । यसको अलावा दही, आलु र भन्टाको चोखा थप भएपछि व्यञ्जनको मनमोहक स्वादको वर्णन गर्न कठिन हुन्छ ।

लाई–तिलुवा बनाउन नजानेका कतिपय महिलाहरूले जान्ने छिमेकी महिलासँग सहयोग लिन/दिने चलन थियो । भुजा र चिउराको लाई, तिलको तिलकुट तथा रामदानाको भुसुकी बन्थ्यो । यी मिष्टानहरू बनाउनका लागि गुड आवश्यक पर्छ । मिठा (गुड)को पागमा बनाइन्छ । अहिले बदाम पनि थपिएको छ । अहिले जस्तै उहिले तयार लाई र तिलुवा बजारमा पाइँदैन थियो । सबै परिकार घरमैं बनाउनुपथ्र्यो ।

खिंचडीको दिन नुहाउनै पर्ने भएकोले एक दिनअघि पराल वा पगाड (उखुको सुकेको पात) प्रबन्ध गरिन्थ्यो । गाउँमा अहिले जस्तै उहिले चापाकल घरघरमा थिएन । सार्वजनिक वा व्यक्तिगत एकाध चापाकलमा नुहाउने मानिसहरूको भीड लाग्थ्यो । मलाई स्मरण छ, जतिबेला श्रीसिया खोलाको पानी सफा थियो, त्यस बेला मकर सङ्क्रान्तिको दिन गाउँका थुप्रै मानिस श्रीसिया खोलामा नुहाउन जान्थे । अहिले त्यही श्रीसिया खोलामा प्रदूषणमुक्त पानी नबगेको वर्षौं भइसक्यो । मलाई लाग्छ, श्रीसिया खोला प्रदूषणमुक्त भए, आज पनि मकर सङ्क्रान्ति होस् वा कुनै पनि चाडपर्व, श्रीसिया नदीमा मानिसहरूको भीड नहुने कुरै छैन ।

भूषण यादव (पत्रकार, वीरगंज)

म खिंचडीबारे बाल्यकालीन प्रसङ्ग स्मरण गर्न चाहन्छु । पर्साको तत्कालीन नगरदाहा गाविस अन्तर्गत मेरो जन्मथलो पदमौल अहिले बहुदरमाई गाउँपालिका–३ मा पर्छ । खिंचडी वा माघे सङ्क्रान्ति भनौं, उहिलेको बाल्यकालीन हर्षोल्लासमय पल अहिले पनि मेरो मस्तिष्कमा ताजा छ ।

बाल्यकालमा कठ्याङ्ग्रिदो जाडोको मौसममा नुहाउन आनाकानी गर्ने मसँगै मेरा सहपाठीहरू पनि थुप्रै थिए । उमेश यादव, प्रमेश यादव र गोरेलाल साहलगायत सात/आठ जना साथीसँग गाउँमा बिताएको बाल्यकाल कहिल्यै बिर्सन सकिंदैन । 

हामी साथीहरूबीच लाई–तिलुवा खाने उत्सुकता खिंचडीको दुई/चार दिनअघिदेखि नै साझा हुन्थ्यो । थुरथुर काम्ने जाडोयाममा नुहाउनु युद्ध गर्नुभन्दा कम थिएन । आमाले “बिहान खिंचडी ह हमर बाबु, सबेरे नहा लिह, चाउर छु लिह, तब लाई–तिलुवा खाएके देहेम, ठीक बा नु” भन्नुहुन्थ्यो ।

गाउँघरका कतिपय छिमेकी ठूलाबडाहरूले खिंचडीको दिन समातेर नुहाउने भनेपछि बाल्यकालीन त्यो क्षण सम्झना हुँदा अहिले कति रोमाञ्चक लाग्छ, शब्दमा वर्णन गरेर साध्य छैन । लाई र तिलुवा खाने उत्सुकताजन्य माहोलमा चापाकलमा नुहाउनु बढी चिन्ताजनक थिएन । एकाबिहान नुहाएर घुर ताप्दै लाई–तिलुवा खाएको त्यो बाल्यकाल फर्केर आउँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here