- उमाशङ्कर द्विवेदी
द्विजवर, त्यसैले कति पनि सन्देह छैन कि तपाईं आफ्नो दिव्यास्त्रहरूबाट देउता, असुर र गन्धर्वहरूसहित तीनै लोकको संहार गर्न सक्नुहुन्छ । यति शक्तिशाली भएर पनि तपाईं पाण्डवहरूलाई आफ्नो शिष्य भन्ठानेर अथवा मेरो दुर्भाग्यको कारणले उनीहरूलाई क्षमा नै गर्दै जानुहुन्छ ।
दुर्योधनको यस्तो कुरा सुनेर आचार्य द्रोण कुपित भएर भने– दुर्योधन, म बूढो भइसकेको छु तैपनि सङ्ग्राममा आफ्नो शक्ति अनुसार लड्ने चेष्टा गरिरहेको छु, तर लाग्दछ तिमीलाई विजय दिलाउनको निम्ति अब मलाई नीच कर्म पनि गर्नुपर्नेछ । यिनीहरूलाई ती अस्त्रहरूको बारेमा थाहा छैन, जसको बारेमा मलाई थाहा छ, त्यसैले मैले तिनै अस्त्रहरूको प्रयोग गरेर यिनीहरूलाई मारिहाल्नेछु । यसभन्दा खोटो र नीच कर्म अरू के नै हुन सक्छ ? राम्रो नराम्रो जुन पनि काम तिमीले गराउन चाहे, तिमीले भनेपछि त्यो सबै काम गर्नेछु अन्यथा आफ्नो इच्छाले अशुभ कर्म मबाट हुन्न । समस्त पाञ्चाल राजाहरूको संहार गरेर मात्र अब कवच फेर्नेछु । यसको लागि म आफ्नो हतियार छोएर सत्यको शपथ लिइरहेको छु । तिमीलाई लागिरहेको छ कि अर्जुन युद्धमा थाकिसकेका छन्, यो तिम्रो भूल हो । अर्जुनको सही पराक्रम सुनाउँदैछु, सुन ।
सव्यसाची कुपित भएपछि देउता, गन्धर्व, यक्ष र राक्षसले पनि उनलाई जित्न सक्दैनन् । खाण्डव–वनमा उनले इन्द्रको सामना गरेर आफ्नो बाणबाट उनको वर्षालाई रोकिदिएका थिए तथा बलको घमण्डले भरिएका यक्ष, नाग र दैत्यहरूलाई परास्त गरेका थिए । सम्झना हुनुपर्दछ कि घोषयात्राको बेला जब चित्रसेन आदि गन्धर्व तिमीलाई बाँधेर लगिरहेको बेला अर्जुनले नै तिमीलाई मुक्त पारेका थिए ? देउताहरूको शत्रु निवातकवच नामक दैत्यहरूलाई, जसलाई स्वयम् देउताहरूले पनि मार्न सकेका थिएनन्, अर्जुनले नै परास्त गरेका थिए । हिरण्यपुरमा रहेका हजारौं दानवलाई जसले जितेका थिए, ती पुरुषसिंह अर्जुनलाई कुनै मानिसले कसरी हराउन सक्छ ? हरेक किसिमले चेष्टा गर्दा पनि उनले तिम्रो सेनाको सत्यानाश गरिदिए, यी सबै त तिमीले आफ्नो आँखाबाट हेरि नै रहेका छौ ।
महाराज, द्रोणाचार्यले यस प्रकार अर्जुनको प्रशंसा गर्न थालेपछि तपाईंको पुत्र दुर्योधन कुपित भएर भन्यो– आज म, दुश्शासन, कर्ण र मामा शकुनि सबै मिलेर कौरव सेनालाई दुई भागमा बाँडी दुई ठाउँमा मोर्चाबन्दी गरी युद्धमा अर्जुनलाई मारिछाड्ने छौं । यो सुनेर आचार्यले मुस्काउँदै भने– वेश, जाऔं, परमात्माले नै कुशल गरून् । यस्तो कुन यस्तो क्षत्रिय छ, जसले गाण्डीवधारी अर्जुनको नाश गर्न सक्दछ ? दुर्यो, मानिसको त के कुरा–इन्द्र, वरुण, यम, कुबेर तथा असुर, नाग र राक्षसले पनि उनको कुनै पनि किसिमको बिगार गर्न सक्दैनन् । तिमीले जुन कुरा भनिरहेका छौ, यस्तो कुरा मूर्खहरूले मात्र गर्दछन् । सङ्ग्राममा अर्जुनसित भिडेर को कुशलतापूर्वक फर्किन सक्छ ? तिमी त निर्दयी हौ र पापमा मात्र तिम्रो मन लाग्छ । त्यसैले तिमी सबैमाथि सन्देह गर्छौ तथा जो जो तिम्रो हितमा लागेका हुन्छन्, उनीहरूप्रति चाहिने नचाहिने कुरा गरी हिंड्छौ । तिमी पनि त जहानियाँ क्षत्रिय हौ, जाऊ, आफ्नोलागि स्वयम् अर्जुनसित युद्ध गरेर उनलाई मारिदेऊ । यी सबै निरपराध सैनिकलाई किन मार्न लगाइरहेका छौ ? तिमी नै यस वैर–विरोधको मूल कारण हौ, त्यसैले स्वयम् नै गएर अर्जुनको सामना गर र साथमा तिम्रो यो मामा पनि जाऊन्, जो कपट जुवामा बडो खप्पिस छन् । यी धूर्त जुवाडे, जसले अर्कालाई धोका दिनमा नै आफ्नो बुद्धिको परिचय दिएका छन्, तिमीलाई पाण्डवहरूबाट विजय दिलाउनेछन् ? तिमीले पनि धृतराष्ट्रलाई सुनाएर कर्णको साथ बडो उमङ्गले भन्ने गर्दथ्यौ–पिताजी, म, कर्ण र दुश्शासन–तीनजना मिलेर पाण्डवहरूलाई जित्नेछौं । तिमीले सभामा भनेको यस्तो भनाइ मैले कैंयनपटक सुनेको छु । आज उनीहरूलाई साथमा लिई प्रतिज्ञा पूर्ण गर, भनेको कुरालाइ सत्य गरी देखाऊ । त्यो हेर, तिम्रो शत्रु अर्जुन निर्भीक भएर सामुन्ने नै उभिएको छ, क्षत्रिय धर्मको पालन गर्दै युद्ध गर । अर्जुनको हातबाट तिमी मारिनु जीत हुनुभन्दा राम्रो हुनेछ । जाऊ, निडर भएर युद्ध गर ।
यति भनेर आचार्य द्रोण जतातिर शत्रु उभिएका थिए, उतै लागे । अनि सेनालाई दुई भागमा बाँडी युद्ध आरम्भ गरे ।
सञ्जयले भने– महाराज, रात्रिको तेस्रो प्रहरमा कौरव र पाण्डवहरूबीच बडो उत्साहको साथ युद्ध शुरू भयो । केहीबेरमैं अरुणोदय भयो । त्यति बेला दुवै सेनाका योद्धाहरू आआफ्नो सवारीलाई छाडेर सन्ध्या–वन्दनको लागि सूर्यको सम्मुख जप गर्दै हात जोडी उभिए ।