नरेश यादव, पर्सागढी, २४ पुस/
वीरगंज महानगरपालिका–१७ गधैयाटोल निवासी विनोद साह गोढको आठ वर्षीय छोरा श्रीचन्दर साह गोढको दिनचर्या कष्टकर भएको छ ।
अपाङ्ग गोढ चीसो मौसममा घस्रिएर हिंड्नुपरेको उनका बुबाले गुनासो गरे । आफ्नो आर्थिक स्थिति दयनीय रहेको तथा घरमा पाँचजना छोराछोरी रहेकोले अपाङ्ग छोरालाई ह्वीलचेयरको व्यवस्था गर्न नसकेकोमा उनले दुःख व्यक्त गरे । कक्षा २ मा अध्ययनरत श्रीचन्दरले अपाङ्ग भत्ता पाउने गरेको उनको पिताले बताए । चीसोको मौसममा विद्यालय अथवा अन्य कतै जानुपर्दा उनी घस्रिएर जाने गरेकाले दाताहरूले ह्वीलचेयरको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
वडाध्यक्ष हृदयनारायण कुर्मीले अपाङ्ग श्रीचन्दरलाई वडाबाट हुने सहयोग गर्ने बताए । उनले यसबारे आफूलाई अहिलेसम्म थाहा नभएकोले अपाङ्ग बालकप्रति हुने सहयोग गर्ने आश्वासन दिए ।