प्रस, सेढवा, २४ पुस/
पर्साको ठोरी गाउँपालिकामा आइतवारदेखि प्रथम राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०७९ शुरू भएको छ । गापाको कार्यालय घ्याङ्गडाडामा आज एक समारोहबीच पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रतियोगिताको उदघाटन गर्दै बालबालिकामा े शिक्षाको विकास साथसाथै खेलकुदको विकास गर्न आवश्यक रहेका बताए । उनले खेलकुदले बालबालिकाको शरीर स्वास्थ्य तथा हष्ठपुष्ट राख्न मद्दत मिल्ने र खेलकुदको माध्यमले समाज तथा पालिकाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत मिल्ने बताए । बालबालिकामा अन्तरनिहित प्रतिभा खेलको माध्यमबाट उजागर गरी सफल खेलाडी उत्पादन गर्न सकिने प्रजिअ ढकालले बताए ।
गापा अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन समारोहमा जिल्ला समन्वय समिति पर्साका पूर्व उपसभापति ठाकुरप्रसाद न्यौपाने, नेपाली काङ्ग्रेसका प्रतिनिधि बृहस्पतिकृष्ण श्रेष्ठ, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेकपा माओवादीका ठोरी इन्चार्ज हरिबहादुर सुनार र गापाका शिक्षा शाखा प्रमुख भोपाल जोशी, प्रहरी उपरिक्षक कोमल शाहले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम हेम चापागाइँले सञ्चालन गरेका थिए ।