ढाका, २३ पुस/सिन्ह्वा
बङ्गलादेश युवा सङ्गठनले प्लास्टिक प्रदूषणविरुद्ध चेतना जगाउन ‘सेभ अर्थ, सेभ बङ्गलादेश’ भन्ने नाराका ३० लाखभन्दा बढी प्लास्टिकका बोतलको कला प्रदर्शनी आयोजना गरेको छ ।
विगत ३२ दिनदेखि जारी प्रदर्शनीमा प्लास्टिकका बोतल, पोलिथिन, चिप्सका प्याकेट र सिगरेट फिल्टरबाट बनेका तस्बिर तथा मूर्ति समावेश गरिएका छन् । ढाकामा रहेको युवा सङ्गठन ‘बिडी क्लिन’ले लामो समयदेखि राजधानी ढाका र बङ्गलादेशका अन्य ठाउँमा प्लास्टिक फोहोर सफा गर्दै आएको छ ।
प्लास्टिक र रासायनिक प्रदूषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको बिडी क्लिनका संयोजक मसुदुर रहमानले बताएका छन् । प्रदर्शनीको तयारीका लागि बिडी क्लिनका सदस्यले डेढ महीनाभन्दा बढी समयदेखि देशका विभिन्न स्थानबाट प्लास्टिक सङ्कलन गरेकोे बताए । उनीहरूले निजी खर्चमा फोहोर सङ्कलन गरी यातायातका विभिन्न माध्यमबाट ढाकासम्म ल्याएको जानकारी दिए ।
दैनिक हजारौं दर्शक प्रदर्शनीमा आएका तथा उनीहरू प्रस्तुत चित्रबाट आल्हादित भएको आयोजक संस्थाले बताएको छ । केही आगन्तुकले अब उप्रान्त प्लास्टिक प्रयोग नगर्र्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वातावरण संरक्षणका खातिर प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । रासस