प्रस, वीरगंज, २१ पुस/
प्रदेश सरकारको लगानीमा पर्साका विभिन्न ठाउँमा सडक कालोपत्र निर्माणको कार्यले गति लिएको छ ।
प्रदेश सरकारले गत आवदेखि नीतिमा परिर्वतन गरी एक क्षेत्रमा एक सडक निर्माण गर्ने उद्देश्यका साथ कालोपत्र कार्य भइरहेको छ ।
पर्साका आठवटै निर्वाचन क्षेत्रमा पाँच किलोमिटर सडक कालोपत्रका लागि गत आवमा टेन्डर आह्वान गर्दा दुर्ईवटा ठेकेदार कम्पनीले ठेक्का सकार गरेका थिए ।
पर्सा निर्वाचन क्षेत्र ४ (१) र (२) मा १० किलोमिटर सडक कालोपत्र गर्न रञ्जन निर्माण सेवाले रु १२ करोड तथा बाँकी तीनवटा निर्वाचन क्षेत्रमा ३० किलोमिटर कालोपत्र गर्न रु ४८ करोडमा शिवाको निर्माण सेवाले ठेक्का सकार गरेको छ ।
प्रदेश सरकारको पूर्वाधार कार्यालय, वीरगंजले दिएको जानकारी अनुसार निर्वाचन क्षेत्र १ (१) मा रामवन, (२) मा नगवा, निर्वाचन क्षेत्र २ को (१) रामपुर तथा (२)मा श्रीसिया, पर्सा निर्वाचन क्षेत्र ३ (१) गुलरिया तथा (२) मा पकाहाबाट कालोपत्र कार्य शुरू भएको प्रमुख दीपक मिश्रले जानकारी दिए ।
निर्वाचन क्षेत्र ४ को अहिले साइड क्लियरेन्स नभएको कारण काम रोकिएको प्रमुख मिश्रले बताए ।
अधिकांश ठाउँमा १० देखि ३० प्रतिशत काम सम्पन्न भएको र निर्माण कार्य सम्पन्न अवधि १८ महीना रहेको कार्यालय प्रमुख मिश्रले जानकारी दिएका छन् ।