- विश्वराज अधिकारी
कुकुर–मैत्री समाज
अमेरिका कुकुर–मैत्री समाज हो । अमेरिकामा कुकुरलाई सुरक्षा मात्र होइन, परिवारिक सदस्यजस्तै प्रेम दिने गरिन्छ । केही अवस्थामा आफूभन्दा राम्रो र महँगो खाना दिइन्छ । कुकुर पाल्नु अमेरिकी जीवनशैलीको महत्वपूर्ण अङ्ग हो । बहुसङ्ख्यक मानिस कुकुर पाल्छन् । घर बाहिर जाँदा कुकुरलाई सँगै लग्छन् । आफू नजीक, कारको सिटमा राख्छन् ।
अमेरिकाको कुनै ठूलो खुद्रा भण्डार, खासगरी वालमार्टमा जाने हो भने कुकुरको प्रयोगका लागि चाहिने सामानको छुट्टै शाखा राखिएको देख्न सकिन्छ । ककुरले खाने अनेक किसिमका खानेकुरा, लगाउने लुगा, सुत्ने खाट तथा ओछ्यान ती शाखाहरूमा राखिएको हुन्छ । कुकुरको खेलौनासमेत राखिएको हुन्छ ।
कुकुरका लागि आपत्कालीन सेवा प्रदान गर्ने अनेक अस्पताल स्थापना गरिएको हुन्छ, जहाँ चौबीसै घण्टा नियमित र आकस्मिक सेवा प्रदान हुन्छ । कुकुरकै लागि विभिन्न औषधीहरू उत्पादन गरिएको हुन्छ ।
सर्वाधिक रोचक कुरा त के छ भने अमेरिकामा कुकुरहरूका लगि ‘डे केयर’ (स्याहार केन्द्र) सञ्चालन गरिएको हुन्छ । कुनै परिवार वा व्यक्ति, जसलाई घर छाडेर अन्य शहर जानुछ र साथमा कुकुर लग्ने व्यवस्था छैन भने त्यस्तो परिवार वा व्यक्तिले आफूले पालेको कुकुर त्यस किसिमको डे केयरमा छाडेर जान्छन् । यस्ता डे केयरहरूले कुकुर राखेबापत शुल्क लिन्छन् । जति दिन डे केयरमा कुकुर राख्यो, कुकुरको मालिकले त्यसै अनुसार शुल्क भुक्तान गर्नुपर्छ ।
अमेरिकामा कुकुर पनि विभिन्न प्रजातिका पाइन्छन् । आकारको हिसाबले हत्केलामा अटाउने, मुसाभन्दा केही ठूलो, कुकुरदेखि गाईको बाछोजत्रो कुकुर पनि पालेको देख्न सकिन्छ । यसैगरी तौलको आधारमा दुईदेखि पाँच पौण्ड र एक सय पौण्ड तथा त्योभन्दा बढी तौलको कुकुर पनि पालिएको देख्न सकिन्छ । अमेरिकामा आकार, तौल र शरीरको संचरनाका आधारमा अनेक किसिमका कुकुर देख्न सकिन्छ ।
पाल्तु र सेवा दिन दुई उद्देश्यले कुकुर पाल्ने गरिन्छ । केही रमाइलोका लागि त केही साथीको रूपमा एकदेखि चार वा सोभन्दा बढी कुकुर पाल्छन् । दृष्टिविहीनलाई बाटो देखाउन, बहिरालाई सचेत पार्न, ह्विल चेयर तान्न, मिर्गी भएकाहरूलाई सुरक्षा दिन र सचेत पार्न, मानसिक रोगीलाई औषधी खान सम्झाउन तालीम–प्राप्त कुकुर पालिन्छन् । तालीमप्राप्त कुकुरले विभिन्न किसिमको सेवा प्रदान गर्छ ।
१ देखि ८ सम्म कुकुर–मैत्री राष्ट्रहरूको सूची तयार पार्दा पहिलो नम्बरमा स्वीट्जरल्यान्ड र दोस्रोमा अमेरिका पर्छ । तीनदेखि आठसम्म क्रमशः जर्मनी, क्यानडा, फ्रान्स, नेदरल्यान्ड्स, जापान र अस्ट्रिया पर्दछन् ।
अमेरिका कुकुर–मैत्री समाज हो भन्ने तथ्य माथिको सूचीबाट प्रस्ट हुन्छ । कुकुरहरूले अमेरिकामा उच्चस्तरको मानव–प्रेम पाउँछन् ।