• सञ्जय मित्र

किताब वा ग्रन्थ जहिले पढ्दा पनि हुन्छ । यसको लागि पनि कुनै उपयुक्त समय हुन्छ र ? अझ असल किताब जहिले र जति पढ्दा पनि राम्रो मानिनुपर्ने हो नि !

धर्मार्थकाममोक्षाणां हेतुभूतं महाफलम् ।

अपूर्व पुष्यफलदं शृणध्वं सुसमाहिताः ।।

वाल्मीकीय रामायणमा उल्लिखित उपर्युक्त श्लोकको भावार्थ हुन्छ ः “धर्म, अर्थ, काम र मोक्ष – यी चार पुरुषार्थको साधक हो रामायण । महान् फल दिन्छ । यो अपूर्व काव्य पुष्यफल प्रदान गर्ने शक्तियुक्त छ । तपाईंहरू एकाग्रचित्त भएर यसको श्रवण गर्नुहोस् ।”

उपर्युक्त श्लोकमा रामायणलाई एकाग्रचित्त भएर श्रवण गर्नुहोस् भनिएको छ । यसो भन्नुको कारण यो हुनुपर्छ कि जुन जमानामा रामायण लेखियो त्यस जमानामा शिक्षाको प्रसार भइसकेको थिएन । समाजमा धेरै मानिस पढेलेखेका थिएनन् । रामायणको उपयुक्त पठन धेरैबाट सम्भव थिएन । सार्थक पठन वा बोध नभएपछि रामायण कथा वा यसमा पाइने पुरुषार्थ वा आनन्द वा रस वा भक्ति वा आध्यात्मिकताबाट वञ्चित हुनुपथ्र्यो । यसलाई सम्भवतः यसै अर्थमा श्रवणीय ग्रन्थ भनिएको छ ।

रामायणमैं यसलाई चित्त शुद्ध पार्ने ग्रन्थ भनिएको छ । धार्मिक दृष्टिकोणले रामायणलाई समस्त पाप नाश गर्ने तथा दुष्ट ग्रह निवारक पनि भनिएको छ । रामायण श्रवण–पठनले समस्त दुःस्वप्न नाश हुन्छ । यो धन्यवादयोग्य तथा भोग र मोक्ष–फल प्रदान गर्ने ग्रन्थ हो ।  यसमा भगवान् श्रीरामको लीलाकथाको वर्णन छ । यस काव्यले पाठक र श्रोताका लागि समस्त कल्याणमय सिद्धि प्रदान गर्दछ । यथा ः

दुःस्वप्ननाशनं धन्यं भुक्तिमुक्तिफलप्रदम् ।

रामचन्द्रकथोपेतं सर्वकल्याणसिद्धिदम् ।

यस श्लोकमा रामायणलाई पठनीय र श्रवणीय दुवै भनिएको छ । रामायण कथा श्रवण र पठन गर्नुपर्ने बताइएको छ । रामायणको कथा पाठक र श्रोता दुवैका लागि फलदायी बताइएको छ । रामायणमा यसलाई सम्पूर्ण वेदार्थ अनुकूल भनिएको छ । वेदसम्मत भनिएको छ । यसले सबैको कल्याण गर्ने बताइएको छ । रामायण रामको लीलाको वर्णन त हो तर यसको श्रवण र पठनले पाठक तथा श्रोता मात्र होइन, समाजको पनि कल्याण हुने लेखिएको छ ।

घोरे कलियुगे ब्रह्मन् जनानां पापकर्मिणाम्

मनः शुद्धिविहीनानां निष्कृतिश्च कथं भवेत् ।

ब्रह्मन् ! घोर कलियुग आएपछि सदा पाप–परायण रहनको लागि जसको अन्तःकरण शुद्ध हुन सक्दैन, तिनीहरूको मुक्ति कसरी हुन्छ ?

यो एउटा गम्भीर प्रश्न हो । रामायणमा यो प्रश्न गरिएको छ । सबै मानिसको चित्त वा अन्तःकरण शुद्ध हुनुपर्छ । रामायणलाई अन्तःकरण शुद्ध बनाउने ग्रन्थ वा कथा मानिएको छ । रामायणको सर्वोच्चता रामायणमा नै उल्लेख छ । यसको महिमागान गरिएको छ । यसलाई सबै दृष्टिले पठनीय भनिएको छ । साथै रामायण कहिले पढ्दा उपयुक्त हुन्छ भन्ने कुरा पनि बताइएको छ ।

रामायणलाई माथि नै मोक्ष प्रदान गर्ने ग्रन्थ मानिएको कुरा आइसकेको छ । एक ठाउँमा भनिएको छ ः

पुरार्जितानि पापानि नाशमायान्ति यस्य वै ।

रामायणे महाप्रीतिस्तस्य वै भवति ध्रुवम् ।”

अर्थात् जुन मनुष्यको पूर्व जन्मोपार्जित पाप नष्ट हुन्छ, उसको रामायणप्रति अत्यधिक प्रेम हुन्छ । यो निश्चित कुरो हो । र,

रामायणे वर्तमाने पापपाशेन यन्त्रितः ।

अनादृत्य असद्गाथासक्तबुद्धिः प्रवर्तते ।

जो पापको बन्धनमा जकडिएको छ, ऊ रामायणको कथा आरम्भ भएपछि यसको अवहेलना गरी अर्को निम्न कोटिको कामकुरामा फस्छ । ऊ असद्गाथामा आसक्त भएर तदनुरूप व्यवहार गर्न थाल्दछ ।

रामायणलाई शुद्ध हृदय, शुद्ध चित्त हुनेहरूले अत्यधिक मन पराउने भनिएको छ । मनमा पाप भएका वा पहिलेदेखि पापकर्म अर्थात् दुष्कर्ममा रहेकालाई रामायण मन नपर्ने बताइएको छ । वर्तमान परिवेशमा यो कत्तिको सही होला हामी आफ्नै विवेकले बुझ्न सक्छौं । यसको अर्थ वर्तमानमा यो हुन सक्छ कि रामायणको पठन वा श्रवण कम्तीमा चित्त शुद्ध हुनेले गरून् । कुनै जमानामा पापको डरले मानिसले कतिपय काम गर्दैनथे, त्यो जमानामा रामायण पढ्नेले पाप नगरून्, पाप कर्म गर्नेलाई रामायण पढ्न वा सुन्न मन लाग्दैन भन्ने मनोविज्ञान सिर्जना गरी समाजलाई असल बनाउने उद्देश्य थियो होला ।

काव्यहरूमा रामायणलाई आदिग्रन्थ पनि मानिएको छ र यो ग्रन्थ कहिले पढ्ने भन्ने समय पनि तोकिएको छ । उसो त यस कृतिलाई जहिले पढे पनि हुन्छ । यसमा निषेध छैन तर रामायण पठनका लागि समय निश्चित गरिएको छ ः

ऊर्जे माघे सिते पक्षे चैत्रे च द्विजसत्तमाः ।

नवाह्ना खलु श्रोतव्यं रामायणकथामृतम् ।

चैत्रे माघे कार्तिके च सिते पक्षे च वाचयेत् ।

नवाहस्सु महापुण्यं श्रोतव्यं च प्रयत्नतः ।

वाल्मीकीय रामायणमा माथिका दुई श्लोक एकै ठाउँमा नलेखिएका भए पनि दुवै श्लोकको भाव करीब एउटै देखिन्छ । दुवै श्लोकमा रामायण चैत, कात्तिक र माघ महीनामा पढ्नु उत्तम भनिएको छ । चैत, कात्तिक र माघमा रामायण पढियो भने उत्तम फल प्राप्त हुन्छ । चैत, कात्तिक वा माघ जुन महीनामा पढे/सुने पनि रामायणको पठन–श्रवण शुक्ल पक्षमा हुनुपर्दछ । सम्भव छ भने नवाह गर्नुपर्छ अर्थात् रामायण कथा नौ दिनसम्म सुन्नु वा पढ्नुपर्छ ।

रामायण पढ्दा के हुन्छ भन्ने कुरो सङ्केतको रूपमा माथिको पहिलो श्लोकले पनि बताएको छ । रामायणले दिने धार्मिक वा आध्यात्मिक सन्देश छँदैछ । अहिलेसम्म जसले यसको पठन आफ्नो हृदयको माग अनुसार गरेको छ, उसलाई मनमा साँच्चीकै शान्तिको दियो बलेको जस्तो आनन्दमय अनुभूति गराएको छ । रामायण जतिपटक पढे पनि अझ पढिरहन मन लाग्ने ग्रन्थ हो । यसको पठनले सदैव मनलाई ऊर्जा दिएको अनुभूति भइरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here