- सञ्जय मित्र
अङ्ग्रेजी वर्ष भनेर चिनिने ईस्वी सन् झन्डै विश्वभर मानिन्छ । जसलाई हामी पूर्वीयजगत् भन्दछौं वा भूगोलको भाषामा विश्वको जुन क्षेत्रलाई पूर्व भनेर चिनाइन्छ, त्यस क्षेत्रका देशमा यदि कुनै जमानामा अङ्ग्रेजले शासन गरेका थिए भने त्यहाँ तिनीहरूले लागू गरेको संवत् यही ईस्वी सन् अहिले पनि चलिरहेको छ । अङ्ग्रेजी वर्षलाई अन्य कारणले अँगाल्ने धेरै देश छन् । यति हुँदाहुँदै पनि, अहिले पनि, विश्वका धेरै देशमा आफ्नै संवत् चलिरहेको छ । नेपालले अहिलेसम्म हिन्दू क्यालेन्डरको आधारमा निर्माण गरिएको विक्रम संवत्लाई देशको मूल संवत्को रूपमा चलाइरहेको छ । विक्रम संवत् औपचारिकरूपमा राष्ट्रिय संवत्को रूपमा चलाउने सम्भवतः नेपाल एकमात्र देश हो ।
नेपालको औपचारिक संवत्को रूपमा विक्रम संवत् रहे पनि मोबाइल तथा कम्प्युटरले स्वाभाविकरूपमा अङ्ग्रेजी संवत्लाई स्वीकार गरेको छ । हरेक जसो क्यालेन्डरले ईस्वी सन्लाई मानेर विक्रम संवत् सँगसँगै ईस्वी सन्को तिथिमिति र अन्य दिवस दिएका हुन्छन् । हाम्रो घरका भित्तामा झुन्डिएका क्यालेन्डरहरूले देशको औपचारिक दिवसका साथसाथै अन्तर्राष्ट्रिय दिवसहरू पनि उल्लेख गरेका हुन्छन् । यसैगरी, सर्वसाधारण बैंकमा काम गराउन जाँदा नेपाली संवत् भनेर विक्रम संवत्मा तिथिमिति उल्लेख गर्ने गरेको भएपनि यदि त्यहाँबाट कुनै प्रिन्ट निकाल्नु छ भने सबै काम त्यही ईस्वी संवत्मा उल्लेख भएको पाइन्छ । यस्ता अन्य अवसरहरू पनि छन्, जसले ईस्वी संवत्लाई सर्वसाधारणले पनि मानिरहेका छन् । यद्यपि हाम्रो संस्कृतिमा सबैभन्दा बढी हस्तक्षेप चन्द्रमासको रहेको छ । हाम्रा अधिकांश चाडपर्व चन्द्रमासको आधारमा निर्धारित छन् र मनाइन्छन् । चन्द्रमासलाई अहिलेसम्म हाम्रो संस्कृतिको एउटा आधार मान्न सकिन्छ । विक्रम संवत्को आधार सौर्य मासलाई मानिन्छ ।
मानिसले पहिले चन्द्रमास कि सौर्य मास, कुन प्रयोग र प्रचलनमा ल्याए भन्ने कुराको खोजी हुन बाँकी छ । तर मलाई के लाग्छ भने चन्द्रमास नै पहिले प्रयोग भएको होला किनभने चन्द्रमा हरेक दिन अलगअलग स्वरूपमा उदाउने र अस्ताउने हुन्छ । पुनः सोही रूपमा हेर्न एक महीना समय लाग्छ । पूर्ण चन्द्रदेखि पूर्ण चन्द्रसम्मको तिथि निकै सजिलोगरी नाप्न सकिन्छ । यसको तुलनामा सूर्यको मापन अलिक जटिल छ । यसले गर्दा मानिसले यदि कुनै दिन कुनै कुरा सम्झनुपर्ने आवश्यकता महसूस हुँदा, उसले चन्द्रमाको उदय र अस्तलाई आधार मान्यो होला । हाम्रो संस्कृतिमा रहेका चाडपर्वलाई आधार मान्ने हो भने पनि यस कुराको पुष्टि हुन्छ । हाम्रा अधिकांश चाडपर्व चन्द्रमा उदाउने तिथिमा पर्दछन् । संस्कृतिको उद्भव र विकाससित चन्द्रमासको प्रत्यक्ष सम्बन्ध रहेको विषयमा अध्येताहरूबीच दुर्ई मत नहोला । समयक्रममा चेतनाको विकास हुँदै जाँदा अन्य किसिमले पनि संस्कृतिको प्रादुर्भाव हुँदै गएको हो । जसमध्ये ईस्वी संवत् पनि एक हो ।
ईस्वी संवत्को आरम्भको आधार येशु मसिहको जन्मलाई मानिएको छ । वास्तवमा पश्चिम भनेर चिनिने विश्वको भूगोलमा येशु मसिहाको जन्मलाई एउटा युगको देन मानिन्छ । यी महापुरुषको जन्मको आधारलाई विश्वमा संवत्को आधार मानिन थाल्यो । छोटकरीमा कसैले येशु, यशु वा कसैले मसिह वा मसिहा भन्ने गरेको पाइन्छ । यिनी धार्मिक गुरु वा नेता थिए । यिनैको नाममा समयको गणना गर्न थालियो अर्थात् यी महापुरुषको जन्मलाई आधार बनाएर जन्मपूर्वको समय र जन्मपश्चात्को समय भनेर गणना गरिन थाल्यो । यसलाई गेग्रियन क्यालेन्डर भनिन्छ । यस क्यालेन्डरमा मानिएको प्रचलित वार्षिक तिथिमितिको आधारमा नै अहिलेको विश्वका धेरै कुरा निर्धारण हुने गरेको छ । विश्वका हरेक नागरिकले मान्ने गरेको यस ईस्वी संवत्लाई आजभोलि कमन एरा भनिन थालिएको छ । यसलाई सङ्क्षेपमा सन् भनेर चिनिन्छ । ईस्वी सन्को सङ्क्षिप्त सन् भएको छ । यसलाई अङ्ग्रेजीमा एनो डोमिनी (Anno Domini) जसलाई सङ्क्षेपमा AD भनिन्छ । यस संवत्को आरम्भ अर्थात् शून्य वर्षभन्दा पहिलेको समयलाई ईशापूर्व भनिन्छ । यो भनेको ईस्वी संवत्को भन्दा पहिलेको वर्ष हो । यो भनेको ईशाको जन्मभन्दा पहिलेको समय वा वर्ष हो । येशूको जन्मभन्दा पहिलेको समयलाई ईसा पूर्व र छोटकरीमा ई.पू. भनिन्छ । यसलाई नै अङ्ग्रेजीमा बिफोर क्राइस्ट भनिन्छ । अङ्ग्रेजीको बिफोर क्राइस्टको सङ्क्षेप BC हो । यसले येशू जन्मनुभन्दा पहिले वा ईस्वी सन् शुरू हुनुभन्दा पहिलेको समयलाई बुझाउँछ । आजभोलि ईस्वी सन्को ठाउँमा कमन इरा (CE) र ईसा पूर्वको ठाउँमा (BCE) पनि प्रयोग र प्रचलनमा आइसकेको छ ।
प्रचलनमा रहेको कुनै पनि संवत्मा एक वर्षलाई गणनाको एउटा ठोस आधार मानिन्छ । एक वर्ष कुन दिन पूरा हुने र कुन दिनदेखि अर्को वर्ष आरम्भ हुने भन्ने प्रायः निश्चित गरिएको छ वा प्रचलनमा रहेको छ । अङ्ग्रेजी वर्षमा पनि वार महीना हुने तथा वार महीनामा पहिलो महीना जनवरी हुने गर्दछ । जनवरीको पहिलो दिनलाई नयाँ वर्षको शुरूआत मानिन्छ । नयाँ वर्षको शुरूआतको दिनलाई प्रायः सबै संवत्मा नयाँ वर्षको रूपमा मनाइन्छ । पहिलो दिन वास्तवमा अब नयाँ वर्षको रूपमा स्थापित भइसकेको छ । सामान्यतया Happy New Year भनेपछि आफ्नो परिवेशमा प्रयोग र प्रचलनमा रहेको संवत्को शुरूआत हुने पहिलो दिन बुझिन्छ । यस अर्थमा अङ्ग्रेजी नयाँ वर्ष भनेर जनवरीको पहिलो दिन अर्थात् जनवरी १ लाई मानिन्छ । जनवरी १ अर्थात् नयाँ साल, नयाँ वर्ष, न्यू इयर कुनै न कुनै रूपमा विश्वभर मनाइने गरिएको छ ।
शिक्षा र चेतनाको विस्तार भएसँगै र इन्टरनेटको पहुँच युवा समुदायमा वृद्धि भएसँगै विश्वभर गेग्रियन वर्षको वर्चस्व र विश्वसनीयता बढेको छ । यसले नवयुवा वर्गमा सांस्कृतिक हस्तक्षेप पनि गरेको छ । सांस्कृतिक हस्तक्षेपको यो अर्थ कदापि लगाउनुहुँदैन कि संस्कृतिमा विकृति ल्याएको छ । विकृतिबाट कुनै संस्कृति मुक्त होला तर यो नयाँ संस्कृतिको रूपमा युवामाझ स्थापित भइसकेको छ र युवा पुस्ताबाट निरन्तर वा हरेक वर्ष झन् नयाँ पुस्तामा हस्तान्तरित भइरहेको छ । विभिन्न देशमा विभिन्न किसिमले नयाँ वर्षको स्वागत गरिन्छ । आफ्नो मौलिकतासहित नेपालका युवाहरूले पनि गेग्रियन क्यालेन्डरको नयाँ वर्ष जनवरी १ मा भव्यतापूर्वक मनाउन थालेका छन् । हरेक पर्यटकीय गन्तव्य यस दिन भरिभराउ हुन्छ । अलिकति गहिरिएर हेर्ने हो भने हामीकहाँ सांस्कृतिक अवसर धेरै छन्, ती सांस्कृतिक उत्सव मनाउने आफ्नै तरीका छ र नयाँ वर्षको नवीन अनुभूति युवाहरूले गर्न पाउने निरन्तर नौलो संस्कृतिको रूपमा यो दिन हाम्रो समाजमा रहिरहनेछ ।