चुनावताका र सरकार गठनकोे बेला राजनीतिक दलहरूबीच गठबन्धन तथा पार्टी एकताको कुरा निकै चल्छ । गठबन्धन र पार्टी एकता फरक विषय हुन् । कुनै निश्चित उद्देश्यप्राप्तिका निम्ति दलहरूबीच कार्यगत एकता गरेर अगाडि बढ्नु गठबन्धन हो । यो दीर्घकालीन हुँदैन । गठबन्धन गर्नका लागि राजनीतिक विचार, आस्था वा अन्तिम लक्ष्य मिल्नुपर्दैन । निश्चित कोर्ष पूरा गर्नका लागि बनाइने गठजोड नै गठबन्धन हो । चुनावताका बनेको नेपाली काङ्ग्रेस र वाम दलहरूबीचको कार्यगत एकता एवं नेकपा एमाले र राप्रपालगायतका दलहरूबीचको तालमेल यस्तै किसिमको गठबन्धन हो । जसले जे भने पनि यसको लक्ष्य चुनाव जित्नु मात्रै थियो । त्यसमा पनि आफूले जतिसक्दो फाइदा लिने हरेकको दाउ हुन्छ । गठबन्धनका सहभागीहरूमा कोर्ष सम्पन्न हुँदासम्म सफलता हात परे आफूले जश लिने र असफलता भोग्नुपरे अरूलाई दोष देखाउने चलन छ । किनभने उनीहरूले गठबन्धन निर्माणको बेलादेखि नै यही सोच पालेका हुन्छन् । पार्टी एकता चाहिं अलि फरक कुरा हो । राजनीतिक आस्था तथा विचार एवं अन्तिम लक्ष्य मिल्ने दलहरूबीच मात्रै पार्टी एकता हुन सक्छ । यो दीर्घकालीन सोचका साथ गरिने हुँदा जतिवटा दल मिलेर बनेको पार्टी भएपनि सिङ्गो पार्टीको जीत, सबैको जीत भन्ने भावना हुन्छ । विचार तथा आस्थाको बाटो फराकिलो पार्दै लक्ष्यमा पुग्ने ध्याउन्नमा लागेका हुन्छन् ।
गठबन्धनभन्दा पार्टी एकता निस्स्वार्थ, दीर्घकालीन र सामूहिक नेतृत्वमा आधारित हुने भएकाले नागरिक समुदाय र तल्लो तहका कार्यकर्ताको आकर्षण पार्टी एकतातर्फ छ । यस कारण दलका नेताहरूले ‘गठबन्धन’ लाई पनि ‘पार्टी एकता’ भनेर ढाँट्ने गरेका छन् । जोडिएको भनिएका पार्टी पुनः फुटेपछि मात्रै ‘गठबन्धन पो रहेछ’ भन्ने कुरा कार्यकर्ता र सर्वसाधारणलाई थाहा हुने गरेको छ । २०६३ सालपछि जति पनि पार्टी एकता भनिएका छन्, त्यसमा अधिकांश गठबन्धन मात्रै ठहर भए । मधेस केन्द्रित दलहरूको जति पनि पार्टी एकता भनिएका थिए, ती सबै गठबन्धन मात्रै रहेछ । त्यसैगरी, वामपन्थीहरूबीच बनेको ‘नेकपा’, यस्तै राजावादीहरूबीचको एकता पनि निश्चित उद्देश्यप्राप्तिका निम्ति गरिएको गठबन्धन साबित भइसकेका छन् । कुनै पार्टी एकता चुनाव जित्नका लागि र कुनै एकता सत्ता हात पार्नका लागि मात्रै बनाएको देखियो ।
अहिले फेरि राजनीतिक वृत्तमा ‘पार्टी एकता’को खेती शुरू भएको छ । एमाले र नेकपा (एकीकृत समाजवादी)बीच एकता, नेकपा एस र माओवादी केन्द्रबीच एकता, उक्त तीनवटै दलबीच एकीकरणलगायतका हल्ला बजारमा छ । त्यसैगरी, जसपा र अन्य दलबीच एकता हुनेलगायतका चर्चाले प्राथमिकता पाएको छ । पार्टी एकता यति सजिलो कुरा होइन । सहजसाथ पार्टी एकता भएमा फुट पनि सजिलै हुन सक्ने हुँदा त्यो केवल गठबन्धनमा मात्रै सीमित रहन पुग्छ । एमाले, माओवादी वा मधेसवादी कुनै एक दलले चुनावमा बहुमत ल्याएको भए बहुमत प्राप्त दलले सरकार गठनको क्रममा पार्टी एकताको कुरा गर्ने थिएन । ‘काम गर्ने कालु, मकै खाने बेलामा किन
भालु ?’ अहिले एउटा साना दलको पनि सरकार गठनमा अङ्कगणितीय महत्व छ । त्यसैले हरेक दल सत्ताको तर आफ्नै भागमा रहोस् भन्ने ध्याउन्नमा एकताको रट लगाउन बाध्य छन् । कुनै पार्टी एक भइहाले पनि भोलि सत्ता समीकरण बिग्रिएमा स्वार्थ बाँझिन पुग्छ । त्यति बेला फेरि पार्टी फुट्नेछ ।