चिरञ्जीवी सापकोटा, ठोरी, १४ पुस/
ठोरी गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखी काम गरिरहेको छ । शिक्षा विकासको मेरुदण्ड भएकोले शिक्षालाई प्राथमिकतामा राखी कार्य थालनी गरेको गापा अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । शिक्षाको माध्यमबाट ठोरीको विकास सम्भव देखिएकोले आफूले कार्यभार सम्हालेदेखि ठोरीमा कक्षा १२ सम्म निश्शुल्क शिक्षाको निर्णय गरेको र ठोरीका २१ वटै सामुदायिक विद्यालयमा ५० लाखभन्दा बढी अनुदान प्रदान गरिएको उनले बताए । गरीबका छोराछोरीहरूले विद्यालयमा तिर्नुपर्ने शुल्कका कारण कक्षा १२ सम्म पनि पढ्ने अवस्था नरहेको देखेर आफूले सबैले शिक्षा पाउनुपर्छ भन्ने हेतुले कक्षा १२ सम्म निश्शुल्क शिक्षाको व्यवस्था मिलाएको उनले प्रस्ट्याए । अध्यक्ष श्रेष्ठले ठोरी गापाले शिक्षा निश्शुल्क गरेपछि विद्यार्थी र अभिभावक खुशी भएको दाबी गरे ।
त्यस्तै, ठोरी गापाले अहिले सामुदायिक विद्यालयका पुराना जस्तापातामा रङ्गरोगन शुरू गरेको छ । अध्यक्ष श्रेष्ठले अनुगमनका क्रममा जस्तापाताको अवस्था हेरेर प्वाल परेको जस्तापातालाई टाल्ने र रङ्गरोगन गरेर आकर्षक बनाउने कार्य शुरू गरेको बताए । विद्यालयमा रहेका समस्यामध्ये जस्तापाताबाट पानी चुहिने देखिएकोले यस वर्षभित्र समाधान गर्नेगरी कार्य शुरू गरेको बताए । यसले आउँदो वर्षायाममा यहाँका विद्यालयहरूमा वर्षाको कारण जस्तापाताबाट पानी चुहिएर पढाइ प्रभावित नहुने उनले विश्वास व्यक्त गरे । सामान्य टालटुल गरी काम चल्ने खालको जस्तापाता भए मर्मत गरिने र जस्तापाता फेर्नुपर्ने भए सो पनि गरिएको उनले बताए ।
शिक्षामा व्यापक सुधार गर्नुपर्ने र ठोरीको शिक्षालाई अगाडि बढाउन के कस्ता कार्यहरू सञ्चालन गर्न सकिन्छ भनी आफ्नै अग्रसरतामा शैक्षिक सुझाव तथा परामर्श समिति गठन गरिएको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले समितिले दिएको राय, सुझाव र सल्लाह बमोजिम शैक्षिक कार्यक्रमको तर्जुमा गरी अघि बढेको पनि बताए । ठोरी गापा–२ मा रहेको सरस्वती माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको शिक्षा तथा खेलकूद शाखाका प्रमुख भुपाल जोशीले जानकारी दिए ।
आगामी वर्ष निश्चित मापदण्ड निर्धारण गरी पालिकाले नमूना विद्यालय घोषणा गर्ने अध्यक्ष श्रेष्ठले बताए । उनले नमूना विद्यालयको अवधारणा अनुसार विद्यालयको विकास गर्ने कार्यक्रम रहेको जानकारी गराए । उनले ठोरीका सबै विद्यालयलाई हरित बनाउने उद्देश्य आफूले राखेको र अहिले पहिलो चरणमा एक विद्यालय एक बगैंचा अभियान सञ्चालन गरी दशवटा विद्यालयमा सो अनुरूपको बजेट विनियोजन गरी रकम पठाएको बताए । केही वर्षमा ठोरीका विद्यालयहरू पनि पर्यटकका लागि आकर्षणको केन्द्र हुने उनले दाबी गरे ।
उनले आगामी शैक्षिक सत्रदेखि ठोरीका केही विद्यालयहरूलाई गाभेर पठनपाठनमा अझ गुणस्तरीयता ल्याउने गरी कार्य भइरहेको बताए । उनले टाढाका विद्यार्थीहरूलाई विद्यालय समयमैं पुग्नका लागि सवारी व्यवस्था मिलाउन लागिएको र त्यसको लागि दुईवटा स्कूल बस खरीद गर्ने योजना रहेको बताए । सवारीसाधनको निश्शुल्क प्रयोग विद्यार्थीहरूले गर्न पाउने उनले बताए । उनले शिक्षकहरूलाई दक्षता अभिवृद्धिका लागि पुनर्ताजगी तालीम दिने, लेखा व्यवस्थित गर्न लेखापाललाई तालीम दिने र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलाई पनि व्यवस्थापनसम्बन्धी तालीम दिएर दक्ष बनाउने तथा विद्यार्थीहरूलाई पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराएर दक्ष बनाउने गरी कार्य अगाडि बढाएको बताए ।