ओमप्रकाश चौधरी, सेढवा, १३ पुस/
पर्सेली किसानहरूले गहुँको बीउ छर्ने बेला डिएपी मलको अभाव झेले भने अहिले गहुँबालीकै लागि युरिया मलको अभाव भएको छ । गहुँको बीउ छर्दा डिएपी, युरिया र पोटासको अभावको सामना गरी विभिन्न तरीकाबाट सो समस्याको समाधान गरेका किसानहरूले अहिले गहुँबालीका लागि युरिया मलको आवश्यकता परेको छ । गहुँको बीउ छरेको २१ दिनपछि सिंचाइ गर्ने र युरिया मल छर्ने गरिन्छ । अहिले युरिया मल नेपाली बजारमा अभाव भएकोले किसानलाई पुनः समस्या आइपरेको हो । पटेर्वासुगौली गाउँपालिका–२ मकवानीटोलका किसान बिगा महरा चमारले स्थानीय कृषि सहकारी संस्थामा युरिया मल कम आएकोले सबै किसानलाई उपलब्ध हुन नसकेको बताए । मल अभावलाई टार्नका लागि सीमावर्ती भारतीय बजार धाउन थालेका र त्यहाँ मल महँगो भएको उनले बताए । नेपाली किसानहरू सीमावर्ती भारतीय बजार इनर्वा, भङ्गाहातर्फ जान शुरू गरेको र त्यहाँ युरिया मल ४५ किलो (एक बोरा)को रु एक हजार एक सयमा पाइने गरेको र सो मल तस्करहरूले ल्याएर दूरी अनुसार एक हजार पाँच सयसम्ममा बिक्री गर्दै आएका छन् । तस्करहरूबाट ढुवानी भएर आएको मल दूरी अनुसार प्रतिबोरा एघार सयदेखि पन्ध्र सयसम्ममा खरीद भइरहेको सखुवाप्रसौनी गापा–१ का किसान पारस चौधरीले बताए । युरिया मल नेपाली बजारमा भने ५० किलो (एक बोरा)को रु एक हजारमा पाउँदै आएको चौधरीले बताए ।
जीराभवानी गापा–२ सेढवामा रहेको जय मारुतीनन्दन कृषि सहकारी संस्थाका अध्यक्ष सत्यनारायण साहले नेपाल सरकारको अनुदान रहेको युरिया मल वितरण भइरहेको बताए । उनले पर्याप्त मात्रामा युरिया मल नपाएकोले दैनिक ५०/६० जना किसान रित्तो हात फर्किरहेको बताए । उनले कृषि सामग्री संस्थानबाट मल प्राप्त भएपछि आफूले वितरण गर्दै आएको तर माग अनुसारको मल कम हुने गरेको बताए ।
मल अभाव : युवाहरूको लागि रोजगार
पर्सामा गहुँबालीका लागि युरिया मलको अभाव भएपछि अहिले जीराभवानी गापाका युवाहरूलाई कमाउने अवसर जुरेको छ । यहाँका केही युवाहरू अहिले भारतबाट मल ल्याउने कार्यमा खटिएका छन् । वडा नं १ पकडीटोला, जगतिया र वडा नं ५ सखुवनिया र हरैयाका एक दर्जन बढी युवाहरूको दैनिकी अहिले युरिया मल ढुवानी रहेको छ । उनीहरूले भारतीय सीमावर्ती गाउँ बलुवा, पकडीटोलाबाट युरिया मल ल्याउने र पटेर्वासुगौली गापा–१ रङ्गपुर, सखुवाप्रसौनी–१ को सिरही, सथवल, पर्सागढी नगरपालिकाको मनवा, बडनिहारलगायतका स्थानमा पु¥याउने गरेका छन् । मल ढुवानीमा सक्रिय जीराभवानी गापा–५ सखुवनियाका सञ्जयप्रसाद खवासले किसानले मल नपाउने अवस्था देखेर ढुवानीमा लागेको बताए । उनले यसो गर्दा किसानहरूलाई राहत मिलेको र आफूहरूले पनि केही रकम कमाउने गरेको बताए । उनले किसानलाई सीधा बिक्री गर्दा प्रतिबोरामा दुई सय मुनाफा पाउने गरेको बताए । उनले एकपटकमा तीनवटा बोरासम्म ल्याउने गरेको र किसानलाई मात्र बिक्री गर्दै आएको बताए । व्यापारीलाई बिक्री गर्दा किसानहरू थप आर्थिक भारमा पर्ने देखेर आफूले किसानलाई मात्र बिक्री गर्दै आएको उनले सफाइ दिए ।