प्रस, महोत्तरी, १३ पुस/
महोत्तरी जिल्लाको सहोरवाबाट चार दिन पहिले अपहरणमा परेका ईसर सिद्दिकी मङ्गलवार राति नेपाल–भारत सीमा क्षेत्रबाट मुक्त भएका छन् । अपहरणकारीलाई प्रहरीले फिरौती रकमसहित पक्राउ गरेको छ ।
मेनपावर कम्पनीका प्रतिनिधि सिद्दिकीलाई अपहरण गर्ने भारत, मधुवनी, बेतहा, पर्सा घर भएका मो. मुख्तार शेखलाई नौ लाख रुपैयाँ फिरौती रकमसहित पक्राउ गर्न प्रहरी सफल भएको हो । उक्त फिरौती रकम सिद्दिकीको परिवारजनबाट अपरहरणकारीले बुझिलिएका थिए ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट प्रहरी निरीक्षक उमाशङ्कर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, महोत्तरीको समेत सहयोगमा नेपाल–भारत सीमा क्षेत्रमा सर्च गरेको थियो । सो क्रममा जिल्लाको मटिहानीबाट सिद्दिकीलाई सकुशल अपहरणमुक्त गराउँदै अपहरणमा संलग्न मुख्तार शेखलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।
सिराहा जिल्लाको लहान नगरपालिका घर भएका सिद्दिकी पुस ९ गते शनिवार काठमाडौंबाट हवाई मार्ग हुँदै जनकपुर आएका थिए । जनकपुर विमानस्थलमा पुगेका सिद्दिकीलाई नचिनेको नम्बरबाट फोन गरी आफूहरू वैदेशिक रोजगारमा जान चाहेको भन्दै सरसल्लाहका लागि महोत्तरीको सहोरवा बोलाएका थिए । सहोरवाबाटै आफूलाई चिनेकै मान्छेले अपहरण गरेको मुक्त भएपछि सिद्दिकीले बताएका छन् ।
पक्राउ परेका शेखलाई बुधवार जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए । प्रहरी अनुसन्धानबाट दुवैजनाबीच पुरानो चिनजान रहेको र लेनदेन विवाद देखिएको खुलासा भएको छ । “प्रारम्भिक अनुसन्धानबाट आर्थिक लेनदेन विवादका कारण अपहरण भएको देखिन्छ । विस्तृत अनुसन्धान हुँदैछ,” प्रउ पङ्गेनीले भने ।
सिद्दिकीलाई अपहरण गरी अपहरणकारीले २५ लाख फिरौती मागेका थिए ।
चार दिनसम्म बार्गेनिङ गरेका अपहरणकारी मङ्गलवार साँझ ९ लाख फिरौती लिएर सिद्दिकीलाई छाड्न सहमत भएका थिए । अपहरणकारीलाई लगातार पछ्याइरहेको प्रहरीले फिरौतीसहित एकजनालाई पक्राउ गर्न सफल भएको हो । सो समूहका अन्य चारजना फरार रहेको र तिनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।