प्रस, वीरगंज, १२ पुस/

नेपाल राष्ट्र बैंकको चालू पूँजी कर्जा निर्देशिका तथा बैंकको बढ्दो ब्याजदरका विरुद्ध वीरगंज उद्योग वाणिज्य सङ्घ हिजोदेखि आन्दोलनमा उत्रिएको छ । राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार र व्यवसाय ध्वस्त भएको भन्दै

वीरगंज उद्योग वाणिज्य सङ्घको अगुवाइमा मङ्गलवार पनि वीरगंजमा प्रदर्शन भयो ।

चालू पूँजी कर्जा निर्देशिकाको विरोधमा आज बजारका पसलहरूमा ब्यानर झुन्ड्याउनुका साथै उद्योगी, व्यापारीले हातमा कालोपट्टी बाँधेर विरोध गरेका थिए । सङ्घबाट निकालिएको विरोध जुलुस घण्टाघरमा कोणसभा गरी समापन भएको थियो ।

कोणसभामा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनका कारण वाणिज्य बैंकहरूले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज बढाएको आरोप लगाए । उनले यसै विषयलाई लिएर देशभरका उद्योगी, व्यापारीहरू सडकमा ओर्लनुपरेको बताए । उनले मुलुक आर्थिक सङ्कटतर्फ उन्मुख भइरहेको बताउँदै तत्कालै चर्को ब्याजदर र चालू पूँजी कर्जा निर्देशिका खारेज गर्न माग गरे । उनले व्यावहारिक र निजीक्षेत्रमैत्री प्रावधान ल्याउन आग्रह गरे । यसअघि सङ्घका पदाधिकारी, सदस्यहरू सहभागी भएर वीरगंज बजारका पसलहरूमा विरोध ब्यानरहरू झुन्ड्याइएको थियो ।

आन्दोलनको कार्यक्रम अनुसार भोलि बुधवार पुस १३ गते राष्ट्र बैंक वीरगंज शाखाअगाडि धर्ना कार्यक्रम रहेको र सो कार्यक्रममा सबै उद्योगी, व्यापारीलाई ऐक्यबद्धता जाहेर गर्न अध्यक्ष गुप्ताले आह्वान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here