प्रस, परवानीपुर, १० पुस/
वीरगंजका उद्योगी–व्यवसायीहरूले आइतवारदेखि आन्दोलन शुरू गरेका छन् । सरकारले केही महीनाअघि जारी गरेको चालू पूँजी कर्जा मार्ग निर्देशिका–२०७९ को खारेजीको माग गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको समर्थनमा वीरगंज उद्योग वाणिज्य सङ्घले प्रारम्भिक चरणमा १० दिने विविध विरोध कार्यक्रमसहितको आन्दोलन शुरू गरेको जनाएको छ । वीउवासङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुबोध गुप्ताले विगतमा विभिन्न विरोधका कार्यक्रमबाट राष्ट्र बैंकले आफूहरूको समस्या सम्बोधन गर्न चासो नदेखाएका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।
११ बुँदे माग राखेर आन्दोलन अन्तर्गत राष्ट्र बैंकको मूल गेट र वीउवासङ्घको गेटमा पुस ११ गते विरोधका ब्यानर झुन्ड्याउने तथा पत्रकारहरूसँग अन्तक्र्रिया गर्ने, पुस १२ गते वीरगंजका मुख्य बजारमा व्यवसायीलाई कालो झन्डा र पट्टी वितरण गर्ने, पुस १३ गते नेपाल राष्ट्र बैंकअगाडि एक घण्टा धर्ना दिने, पुस २१ गते वीरगंजमा विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेका छन् । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, वीउवासङ्घका पूर्वअध्यक्ष अशोक टेमानीलगायतको सहभागिता थियो ।