दिनेश मिश्र, वीरगंज, १० पुुस/

पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले आफ्नो गापामा चाहे जति बदलावको अनुभूति हुन नसकेको बताएका छन् । एक्सन एड र दिव्य युवा क्लबको साझेदारी कार्यक्रम महिला अधिकार र स्थानीय अधिकारको वार्षिक प्रतिवेदन पेश गर्ने क्रममा आयोजित कार्यक्रममा गापाध्यक्ष चौधरीले सो कुरा बताएका हुन् ।

उनले गुणस्तरीय शिक्षाको अभावका कारण युवाहरू विदेश पलायन र लागूऔषधजस्ता कुलतको शिकार हुनुपरेको बताए । उनले पटेर्वासुगौली गापाका प्रत्येक वडामा तीन सयभन्दा बढी युवा लागूऔषध सेवनकर्ता भएको बताए । उनले भौतिक विकासका साथै मानव विकासमा पनि भूमिका खेल्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख रुबी ठाकुरले लागूऔषधविरुद्धको अभियानमा पोखरिया नपाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

दिव्य युवा क्लबका अध्यक्ष उमेश चौहानले स्थानीय अधिकार कार्यक्रमले स्थानीय सरकार र संयन्त्रहरूलाई सहयोग प्रदान गर्दै महिला तथा बालबालिकाहरूको अधिकार सुनिश्चित गर्ने, गुणस्तरीय निश्शुल्क सार्वजनिक शिक्षामा बालबालिकाको पहुँच, महिला तथा पुरुषलाई उत्थानशील जीविकोपार्जनको लागि आर्थिक विकल्पको प्रवद्र्धन गर्ने बताए । उनले स्थानीय सरकार, महिला, पुरुष, किशोरकिशोरी, बालबालिकालाई सहभागी गराउँदै उनीहरूको अधिकारलाई सुनिश्चित गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरनराउत कुर्मी, सखुवाप्रसौनी गापाकी उपाध्यक्ष शर्मिला विष्ट, पटेर्वासुगौली गापाकी उपाध्यक्ष ममता चौधरीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण कोपिला चौगाईंले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here