प्रस, वीरगंज, १० पुस/
वीरगंज–पोखरिया सडकखण्डको तिलावे पुलस्थित अलौंमा सशस्त्र प्रहरीको चेक पोस्ट हटाइएको छ ।
विगत लामो समयसम्म सो पोस्टमा २४ घण्टा प्रहरी राखी चेकजाँचको नाममा अवैध रकम असुल हुने गरेको थियो । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बिओपी अलौंले अवैध तरीकाले पोस्ट खडा गरी चेकचाँजको बहानामा सर्वसाधारणलाई दुःख दिंदै आएको थियो ।
नियमविपरीत पोस्ट सञ्चालन भएपनि अहिलेसम्म कसैले चासो लिएका थिएनन् । पर्साका सुरक्षा निकायका प्रमुखहरूको मिलेमतोमा पोस्ट राखिएको स्रोतले बताएको छ । सशस्त्र प्रहरी १३ नम्बरका प्रमुख प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेल हेडक्वार्टरमा तानिएपछि पर्सामा सङ्गठन सुदृढीकरण अन्तर्गत जानकीटोलाको पोस्ट पनि हटाइएको छ ।
सीमामा हुने राजस्व चुहावट नियन्त्रणको सट्टा मुद्रामुखी भएको सशस्त्र प्रहरी सङ्गठनको व्यापक गुनासो बढेपछि पर्साका प्रउ पोखरेललाई तानिएको हो ।
यस विषयमा मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख गणेश ठाडामगरसँग बुझ्दा उनले मुख्य सडकमा पोस्ट राखेर चेकजाँच गर्ने अधिकार हाम्रो सङ्गठनले नदिएको बताए । उनले आफूखुशी राखिएका पोस्टविरुद्ध स्थानीयले जानकारी गराएपछि हटाइएको बताए ।