प्रस, वीरगंज, ९ पुस/
बारा जिल्ला महागढीमाई नगरपालिकाको भुतहा पुलनजीक हिजो साँझ ६ बजे भारतीय नागरिकलाई गोली मारेर हत्या गरिएको घटना रहस्यमय बन्दैछ ।
भारत बिहार, पूर्वी चम्पारण, छौडादानो निवासी शिवपूजन यादवलाई दुईवटा मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली हानी हत्या गरेका थिए ।
घटनामा संलग्न एकजना भारतीय नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । उनले पक्राउ परेका भारतीय नागरिक दर्जनौं आपराधिक घटनामा संलग्न रहेको पाइएको जानकारी गराए ।
गोली हानेर हत्या गरिएका भारतीय नागरिक यादव भारत सरकारले प्रतिबन्ध लगाएको नक्सलीवादीका ठूलो नेता रहेको प्रहरी उपरीक्षक बोगटीले आशङ्का व्यक्त गरे । उनले आफूलाई पाएको सूचना अनुसार मृतक यादव छौडादानोका उपमुखियाका पति रमेश यादव हत्याकाण्डका मुख्य योजनाकार रहेको बताए ।
प्रहरी उपरीक्षक बोगटीले छौडादानो बजारको जनता चोक निवासी रमेश यादवलाई गत चैत १९ राति घर घेराहाली केही समूहले गोली हानी हत्या गरेको थियो । उनलाई राजनीतिक प्रतिशोधका कारण घेरा हालेर हत्या गरिएको र सो कार्यमा शिवपूजन यादवको संलग्नता रहेको रक्सौलका एकजना पत्रकारले बताए । सो घटनापछि शिवपूजन नेपालमा लुकीछिपी बसिरहेको र सोको सूचना पाएपछि हत्या भएका रमेश यादवका मानिसहरूले शिवपूजनलाई नेपालमा योजना बनाएर हिजो हत्या गरेको स्रोतको दाबी छ । हिजो मारिएका शिवपूजनको नाममा भारतीय थानाहरूमा लुटपाट, हातहतियार, डकैती, सम्पत्ति कब्जालगायतका उजूरी दर्ता छन् ।
सूचना चुहिने र अपराधीहरू सचेत हुने भनेर बारा प्रहरीले हिजोको हत्याकाण्डमा पक्राउ परेका भारतीय नागरिकको पहिचान खोलाएको छैन । प्रहरी उपरीक्षक बोगटीले अनुसन्धान सकिएपछि पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिने बताए । उनले पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यानमा कारबाही हुने बताए ।