प्रस, वीरगंज, ७ पुस/
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले नेपाल जेसीजको इतिहास निकै लोभलाग्दो र आकर्षणयुक्त भए तापनि महाधिवेशनलाई साथीभाइसँग भेटघाट र मोजमस्तीभन्दा देशमा नेतृत्व लिनको लागि युवालाई प्रेरणा मिलोस् भन्नेतिर सोच्नुपर्ने सुझाव दिए ।
वीरगंजमा बिहीवारदेखि शुरू नेपाल जेसीजको ४९औं महाधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री गद्दीले नेपालको राजनीतिमा उमेर पुगिसकेका नेताहरूकै हालीमुहाली रहेको बताए । सदैव देशमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, केपीशर्मा ओली नै प्रधानमन्त्री बन्ने हो भने युवाहरू किन राजनीतिमा आउने ? उनले प्रश्न गरे । उनले नेपाल जेसीजले देश हाँक्ने नेता पनि पैदा गर्नेतर्फ विचार गर्न जरुरी भएको बताउँदै वर्षमा एकपटक खानपान र भेटघाटको लागि महाधिवेशन नगर्न सुझाए ।
नेपाल हेर्ने अन्तर्राष्ट्रिय जेसीजकी उपाध्यक्ष भारत राँची निवासी राखी जैनले जेसीजले युवा शक्तिलाई सङ्गठित गर्ने र नेपाल जेसीजले विश्वको ¥याकिङमा राम्रो काम गरी उत्कृष्ट १० भित्र आफ्नो स्थान ल्याउनुपर्ने बताइन् ।
जैनले महाधिवेशनबाट निकै खुशी भएको र सम्मेलन निर्देशक गोपाल केडियाको व्यवस्थापकीय पक्षबाट आकर्षित भएको बताइन् । उनले जेसीजको सभामा मुख्यमन्त्रीदेखि प्रदेश सांसदको उपस्थितिले थप गौरव बढाएको बताइन् ।
नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, रहबर अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राम्रो काम गरेका जिल्ला शाखालाई मायाको चिनो र पुरस्कारसमेत दिइएको थियो ।
आजदेखि शुरू महाधिवेशनमा देशभरबाट करीब एक हजार ४०० जेसीजकर्मीको सहभागिता छ ।
चार दिने कार्यक्रममा एक वर्षको लागि पदाधिकारी निर्वाचित हुनेछन् । १६ पदको लागि करीब ३२ जना आकाङ्क्षीहरू छन् । पुस ९ गते राति मतदान र १० गते पदाधिकारी निर्वाचित हुने कोषाध्यक्ष सन्तोष खनालले बताए ।