प्रस, वीरगंज, ७ पुस/
वीरगंज महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच बिहीवार सम्झौता भएको छ । सम्झौता अनुसार वीरगंज महानगरवासीले ३० युनिटसम्म विद्युत् खपत गर्नेहरूको विद्युत् महसूल महानगरपालिकाले बेर्होने भएको छ ।
यही पुसदेखि ३० युनिटसम्म विद्युत् महसूल निश्शुल्क गरिएको छ । मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शुल्क र इनर्जी शुल्क महानगरले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।
बिहीवार महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख राजेशमान सिंहले निर्वाचनका बेला जनताबीच गरिएको प्रतिबद्धता बमोजिम नगरवासीको विद्युत् महसूल निश्शुल्क गर्ने सम्झौता गरेको बताए ।
आठ बुँदे सम्झौतामा महानगरपालिकाभित्रका घरेलु मिटरमा ५ र १५ एम्पियरको एमसिबी प्रयोग गरी अधिकतम ३० युनिट खपत गर्ने ग्राहकको विद्युत् महसूल र न्यूनतम मासिक महसूल महानगरले बेहोर्ने उल्लेख छ ।
यस्तै, महानगरभित्र सञ्चालित सिङ्गल फेज कृषि मिटरका लिएका सम्पूर्ण ग्राहकको मासिक विद्युत् महसूल पनि महानगरले नै बेहोर्नेछ ।
महानगरले प्राधिकरणको खातामा अग्रिम रकम भुक्तानी गर्ने र त्यही अनुरूप प्राधिकरणले हरेक महीना रिबेटसहितको ग्राहकको शुल्क फछ्र्योट गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौता बमोजिमको सुविधा प्राप्त गर्न ग्राहकले सम्झौता लागू हुनुपूर्वको आफ्नो बक्यौता भने चुक्ता गरेको हुनुपर्नेछ ।
कुनै कारणवश सम्झौता बमोजिमको शुल्क भुक्तानी हुन छुट भए उपभोक्ताले मासिक मिटर रिडिङ भएको मितिले छ दिनभित्र प्राधिकरणको कार्यालयमा दाबी गर्न सकिने पनि उल्लेख छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झा र सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।