प्रस, सेढवा, ६ मङ्सिर/
पर्सा जिल्लाको नदीजन्य पदार्थ उत्खनन कार्यको लागि खोलाको टेन्डर नहुँदा विकास निर्माण कार्य पूर्णरूपमा प्रभावित भएको छ ।
स्थानीय तहमा चालू आव २०७९/८० को विकास निर्माण योजनाहरू सञ्चालनमा आए पनि नदीजन्य पदार्थको अभावमा विकास निर्माण कार्य रोकिएका छन् ।
जीराभवानी गाउँपालिकामा रहेका भलुवाही र ओरिया खोला, पटेर्वासुगौली गापामा रहेका भलुवाही र गादी खोलाको टेन्डर हुन सकेको छैन । यसका साथै सखुवाप्रसौनी गापामा जमुनी खोला र भेडाहा खोलाको टेन्डर भएको छैन ।
खोला नखुलेको र योजना सञ्चालनमा आउँदा यी खोलाबाट अवैध उत्खनन रोकिएको छैन । आसपासका तस्करहरूले दिउँसै खोलाबाट बालुवा, गिट्टी तथा ग्राभेल उठाइरहेका छन् । तस्करहरूको समूहले भलुवाही खोलाबाट दैनिक पाँच सय टेलर नदीजन्य पदार्थ उत्खनन गरी तस्करी गरिरहेको स्थानीयले जनाएका छन् ।
कतिपय तस्करहरूले खोलाबाट नदीजन्य पदार्थ ल्याइ सडकको छेउमा भण्डारण गर्ने गरेका छन् । यसका लागि नजीकका प्रहरी तथा सशस्त्र प्रहरी एकाइमा मासिक नजरानासमेत बुझाउने गरेका छन् ।
मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि पर्सा राष्ट्रिय निकुञ्जले नदीजन्य पदार्थ उपलब्ध गराए पनि प्रक्रिया झन्झटिलो हुने गरेको छ । सुनाखरी वन समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले बालुवा, गिट्टीको सिफारिश गर्दा नागरिकता, लालपुर्जाको प्रतिलिपि बुझाउनुपर्ने बताए । यसका साथै दररेट पनि निकै बढाएको हुँदा सिफारिश दिन तथा सर्वसाधारणहरूलाई बुझाउन कठिन हुने गरेको उनले बताए ।
पटेर्वासुगौली गापाका ऊर्जा तथा वातावरण शाखा प्रमुख निर्मल सिंहले पटेर्वासुगौलीमा पर्ने भलुवाही खोलाको वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाइसकेको बताए । उनले प्रतिवेदन स्वीकृत हुने बित्तिकै टेन्डर गरिने बताए ।
जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले पालिकामा रहेका भलुवाही र ओरिया खोलाको टेन्डर तीन/चार दिनमैं खोलिने बताए ।