वाशिङ्टन, ३ पुस/सिन्ह्वा

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् (एनएससी)का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वाशिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताएका छन् ।

किर्बीले अमेरिकी प्रसारण संस्था भ्वाइस अफ अमेरिका (भिओए)लाई दिएको अन्तर्वार्तामा भने, “चीनले पनि विश्वको सुरक्षा वातावरणमा परिवर्तन ल्याउँदै आएको छ । आजभोलि हामी चीनलाई रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्छौं भन्ने चर्चा सुनिन्छ तर हामी चीनसँग द्वन्द्व होस् भन्ने चाहँदैनौं ।”

वाशिङ्टन र बेइजिङबीचको प्रतिस्पर्धालाई व्यवस्थित गर्न अमेरिकी विदेश मन्त्रालयले नयाँ ‘अफिस अफ चाइना कोअर्डिनेशन’ स्थापनापछि ह्वाइट हाउसका अधिकारीले चीनबारे संयोजक किर्बीले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, “यद्यपि अमेरिकाले सन् २०२२ मा सूचनाको वातावरणमा चीनले खडा गरेको सुरक्षा चुनौतीका लागि तयार रहने ताइवानमा हालैका गतिविधिका कारण ताइवानसँगको सम्बन्धलाई सामान्य बनाउने प्रयास पनि समावेश छ ।

शुक्रवार अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले अफिस अफ चाइना कोअर्डिनेशनको उद्घाटन गर्दै चाइना हाउसले जनवादी गणतन्त्र चीनसँगको अमेरिकी प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न तथा खुला, समावेशी अन्तर्राष्ट्रिय प्रणालीको लागि अमेरिकी दृष्टिकोणलाई अगाडि बढाउन सक्षम भएको सुनिश्चित गर्ने विश्वास व्यक्त गरे । 

विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, “चाइना हाउसले सुरक्षा, आर्थिक, प्राविधिक, कूटनीतिक र रणनीतिक मुद्दाहरूमा काम गर्न विदेश मन्त्रालयभरिका चिनियाँ विशेषज्ञहरूको एक समूहलाई एकसाथ भेला गर्नेछ । सुधारिएको समन्वयले विदेश मन्त्रालयको नीतिलाई अझ सुसङ्गत बनाउने र अमेरिकालाई सहयोगी र साझेदारहरूसँग अझ गहिरोरूपमा संलग्न हुन अझ राम्रो स्थितिमा पु¥याउनेछ ।”

विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले बिहीवार आयोजित पत्रकार सम्मेलनमा बाइडेन प्रशासनले चीनसँग रणनीतिक प्रतिस्पर्धाको अवस्था र दायरालाई अमेरिकाले मान्यता दिएकाले चाइना हाउस शुरू गरेको बताए । “चाइना हाउस विदेशमन्त्री ब्लिन्केनको आधुनिकीकरणको एजेन्डाको प्रमुख हिस्सा हो, यसले हाम्रा कूटनीतिज्ञहरूलाई २१औं शताब्दीका चुनौतीको सामना गर्न मदत गर्नेछ,” उनले भने ।

मे महीनाको शुरूमा ब्लिन्केनले चाइना हाउस निर्माण गर्ने घोषणा गरेका थिए । उक्त हाउसले मन्त्रालयव्यापीरूपमा एकीकृत ढङ्गले काम गर्ने विदेशमन्त्रीले बताएका थिए । उक्त हाउसले मुद्दाहरू र क्षेत्रहरूमा अमेरिकी नीतिको समन्वय र कार्यान्वयन गर्नेछ ।

उनले भने, “म विदेश मन्त्रालय र हाम्रा कूटनीतिज्ञहरूलाई मेरो आधुनिकीकरणको एजेन्डाको एक भागको रूपमा यस चुनौतीको सामना गर्न आवश्यक उपकरणहरू दिन कटिबद्ध छु । यसमा चाइना हाउसको निर्माण पनि समावेश छ । यसले सम्बन्धित मुद्दा र क्षेत्रहरूमा अमेरिकी नीति समन्वय र कार्यान्वयन गर्नेछ र आवश्यकता अनुसार अमेरिकी संसद्सँग काम गर्नेछ ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here