प्रस, परवानीपुर, १ पुस/
वीरगंज कोरिडोरमा २५ करोड रुपैयाँको लागतमा कलम उद्योग स्थापना भएको छ ।
बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित आजदेखि सञ्चालनमा आएको कलम उद्योगको नाम विणाशक्ति पेपर एन्ड स्टेशनरी प्रोडक्ट राखिएको छ । २४ घण्टामा चार लाखसम्म कलम उत्पादन गर्ने क्षमता रहेको उद्योगका सञ्चालक मनोजकुमार मरोडियाले जानकारी दिए ।
कलममा नेपाल आत्मनिर्भर नभएको र आयात गरी यहाँको मागलाई धान्नुपर्ने बाध्यता रहेकोले अढाई कट्ठा जग्गामा आफ्नो उद्योग सञ्चालन भएको र यसले कलम आयात केही कम हुने विश्वास लिएको बताए । तीन तले भवनमा जापानिज, जर्मन र भारतीय प्रविधिको संयोजनमा कलम उत्पादन हुने सञ्चालक मरोडियाले बताए ।
मरोडियाले विगत १६ वर्षदेखि स्टेशनरीको टे«डिङ गर्दै आएका छन् । यो उद्योग नेपालकै एउटा ठूलो प्रविधि भएको र कच्चा पदार्थ आयात गरी कलम उत्पादन गर्ने पहिलो उद्योग भएको उनको दाबी छ । यसअघि, नेपालमा स्टारलाइन कलम उद्योग सञ्चालनमा आए तापनि अहिले सो उद्योग बन्द छ । साथै विराटनगरमा रेन्को ब्रान्डको कलम उत्पादन गर्ने उद्योगले पनि आंशिकरूपमा मात्र कच्चा पदार्थ ल्याएर एसेम्बल गरी कलम उत्पादन गर्दै आएको छ ।
करीब १६ प्रकृतिका रु ५ देखि ५० सम्मका कलम उत्पादन गर्ने उद्योगमा निकट भविष्यमा थप १५ करोड लगानी गर्ने लक्ष्य रहेको उद्योगी मरोडियाले बताए ।
यस उद्योगमा करीब १२५ जना नेपाली नागरिकले रोजगार पाउने व्यवस्थापन पक्षले बताएको छ । गुणस्तरीयताको हिसाबले भारतीय ब्रान्ड सेलो, लिंकलेयर, हाउजर, मोन्टेक्स जस्ता कम्पनीलाई टक्कर दिन फ्रेन्ज ब्रान्डमा कलम उत्पादन हुने उनले बताए । यो उद्योगले बलपेन, जेलपेन, इरेजर, सार्पनर, मार्कर र स्केल पनि उत्पादन गर्ने बताइएको छ ।
नेपालमा वार्षिक ३० करोड थान कलमको खपत रहेको अध्ययनले देखाएको छ । जसमध्ये तीस प्रतिशत अवैधानिकरूपमा भारतबाट चोरबाटो हुँदै भित्रिने गरेको व्यवसायीहरूको आकलन छ ।