प्रस, गरुडा, १ पुस/
रौतहटको समनपुरमा शीतभण्डारको शिलान्यास गरिएको छ । एक समारोहबीच गढीमाई नगरपालिका–१ समनपुरमा आधुनिक र व्यवस्थित शीतभण्डारको संयुक्तरूपमा शिलान्यास गरिएको हो ।
गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखा अधिकृत कामेश्वर सहनी र वडाध्यक्ष रामपुकार राय यादवले समनपुर शीतभण्डारको संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।
यस क्षेत्रकै पहिलो शीतभण्डारको लागत सात करोड ९२ लाख रुपैयाँ रहेको नगरपालिकाका लेखा अधिकृत सहनीले जानकारी गराए ।
स्थानीयवासीको लामो समयदेखिको मागको रूपमा रहेको शीतभण्डारको शिलान्याससँगै निर्माण कार्य पनि शुरू हुने र तोकिएको समयमैं निर्माण हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको भनाइ छ ।
शीतभण्डारको निर्माणपछि गढीमाई तथा वृन्दावन नगरपालिका र सर्लाहीको बरहथवा नगरपालिकाका स्थानीय किसानलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिएको नगरप्रमुख यादवले व्यक्त गरे ।
व्यवस्थित शीतभण्डारको अभावमा स्थानीय किसानहरूलाई निकै मर्का पर्ने गरेको छ । शीतभण्डारको निर्माण भएपछि कृषि उत्पादनको व्यवस्थित भण्डारण गरिने र किसानहरूले उचित मूल्य पाउने सम्भावना रहन्छ । साथै निश्चित तापक्रममा राखेर बीउबिजनको गुणस्तर पनि जोगाउन किसानलाई सहयोग पुग्ने आशा लिएको नगरप्रमुख यादवले बताए ।
सहज र सुविधायुक्त तथा उपयुक्त ठाउँमा निर्माण भइरहेकोले शीतभण्डारले सर्वसाधारण कृषकलाई धेरै किसिमले फाइदा दिने नगरप्रमुख यादवको दाबी छ ।