प्रस, परवानीपुर, १ पुस/
भोजपुरी कथानक चलचित्र मेन्टल आशिकको शुक्रवारदेखि प्रदर्शन शुरू भएको छ । नेपालका ४० वटा सिनेमा हलमा चलचित्रको प्रदर्शन भइरहेको चलचित्र युनिटले बताएको छ ।
वीरगंजमा पत्रकार सम्मेलन गरी १६ डिसेम्बरदेखि नेपालमा र २३ डिसेम्बरदेखि भारतमा प्रदर्शन हुने समयतालिका रहेको बताइएको छ । चलचित्रका अभिनेता सावन कुमारले पत्रकार सम्मेलन गरी भोजपुरी चलचित्रको इतिहासमा पहिलोपटक नेपाल र भारतमा करीब डेढ सयभन्दा बढी चलचित्रघरमा प्रदर्शन हुने भएकामा आफूहरू उत्साही भएको बताए ।
वीरगंज–१६ नगवा घर भई मार्शल आर्ट प्रशिक्षकको रूपमा काम गर्दै आएका सावन कुमार मुख्य पात्रमा छन् । करीब एक करोड ६० लाखको लागतमा निर्माण भएको उनले पत्रकार सम्मेलनमा बताए । यो चलचित्रमा प्रेम, एक्शन, हाँस्यलगायत विधा रहेकाले घरपरिवारका सदस्यहरूले निर्धक्क साथ हेर्न सक्ने अभिनेता सावन कुमारले बताए । चलचित्रका निर्माता मुकेशकुमार पण्डित र निर्देशन तथा सङ्गीत रामाकान्त प्रसादको रहेको छ भने गीत प्यारेलाल र यादव राजले लेखेका छन् । छवटा गीत रहेको चलचित्रमा शिल्पीराज, अन्तरासिंह प्रियङ्का, मोहन राठौरलगायत गायकगायिकाले स्वर दिएका छन् ।
चलचित्रमा भारतीय मूलकी रितु सिंह, नेपालकी अस्मिनी शाही, सञ्जय महानन्दा, भानु पाण्डे, प्रज्वल, सुजल गिरी, नन्दु श्रीवास्तव, घनश्याम गिरी, विशाल सिंह, टिकटक स्टार प्रीति पासवानलगायतको अभिनय रहेको छ ।
वीरगंज, निजगढ, काठमाडौं, लखनऊमा छायाङ्कन भएको चलचित्र भारतको बिहार, उत्तर प्रदेश, झारखण्ड, दिल्ली, पञ्जाब, महाराष्ट्रलगायत राज्यका करीब ८० वटा सिनेमाघरमा प्रदर्शन गर्ने तयारी भइरहेको पत्रकार सम्मेलनमा सहभागी चलचित्रका सहनिर्माता अशोक जैसवालले बताए । नेपालका निर्माता छवि ओझाको एफडी कम्पनीले यो चलचित्रको बजार व्यवस्थापन गरिरहेको छ ।