बलिराम शुक्ल, बिरुवागुठी, २८ मङ्सिर/
पर्सागढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय हर्दियामा बालविकासदेखि कक्षा पाँचसम्म अध्ययन हुन्छ तर भौतिक पूर्वाधार र शिक्षक दरबन्दी अनुसार नहुँदा विद्यार्थीहरूको अध्ययनमा असर परेको छ ।
यहाँ बालविकासदेखि कक्षा पाँचसम्म १६२ जना विद्यार्थी भर्ना भएका देखिन्छन् तर विद्यालयमा १२५ जना विद्यार्थी मात्र दैनिकरूपमा उपस्थित हुने गरेका छन् । विद्यालयमा देखिने विद्यार्थी र रजिस्टरमा उल्लेख भएका विद्यार्थीबीच मेल खाँदैन । यो विद्यालयमा दुईवटा कोठामात्र छन् ।
विद्यालयमा प्रधानाध्यापक र बालविकास सहयोगी गरी दुईजना मात्र कार्यरत रहेको अभिभावक लक्ष्मी यादवले बताए । दुई कोठे विद्यालयमा बालविकासदेखि कक्षा एकसम्म एउटा कोठामा र अर्काे कोठामा कक्षा २ देखि ५ गरी चारवटा कक्षा सञ्चालन हुन्छन् र सोही कोठामा कार्यालय पनि सञ्चालित छ ।
एउटै कोठामा चारवटा कक्षा र कार्यालय सञ्चालन हुँदा त्यहाँको शैक्षिक गुणस्तर कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । प्रधानाध्यापक रामबालकप्रसाद यादवले विद्यालयको भौतिक संरचना वृद्धि र दरबन्दी अनुसारको शिक्षकका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको तर अहिलेसम्म भौतिक पूर्वाधार र शिक्षक दरबन्दीको लागि कुनै पहल नभएको बताए । यथावस्थामा समस्याका बीच विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
पर्सागढी नगरपालिका विषयगत शिक्षा समितिका संयोजक तथा वडाध्यक्ष नितेशकुमार मिश्रसँग यसबारेमा बुझ्दा उनले नगरपालिकामा भौतिक पूर्वाधार र शिक्षकको लागि पहल गरिरहेको र छिट्टै समाधान हुने आश्वासन दिए । उनले आवर संसार र शान्ति शिक्षा नेपालको संयुक्त लगानीमा दुई कोठे कच्ची ट्रस निर्माणको प्रक्रिया अगाडि बढिसकेको बताए ।