प्रस, वीरगंज, २८ मङ्सिर/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सबै वडाका स्वास्थ्य संस्थामा औषधिको कमी नहुने गरी व्यवस्था मिलाउन सरोकारवालाहरूलाई निर्देशन दिएका छन् ।
महानगरको सामाजिक विकास महाशाखाले मङ्गलवार आयोजना गरेको जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख सिंहले महानगरका ३२ वटै वडामा रहेका स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मीहरू तोकिएको समयमा उपलब्ध हुनुपर्ने र सेवाग्राहीहरूलाई आवश्यक सबै खाले तोकिएका औषधि दिनै पर्ने व्यवस्था मिलाउन निर्देशन दिए । उनले यसका लागि आवश्यक आर्थिक भार महानगरले बेहोर्ने बताए ।
नगरप्रमुख सिंहले अब उप्रान्त स्वास्थ्य चौकीमा आवश्यक औषधि तथा अस्पतालमा प्रयोग हुने सामग्री पठाउँदा सम्बन्धित वडाध्यक्षलाई जानकारी गराएर मात्र पठाउन स्वास्थ्य शाखालाई निर्देशन दिए ।
वडाध्यक्षहरूलाई जानकारी नदिई स्वास्थ्य चौकीमा औषधि पठाउँदा कर्मचारीहरूले दुरुपयोग गर्ने गरेको सूचना प्राप्त भएकाले यस प्रकारको नीति अवलम्बन गर्न उनले स्वास्थ्य महाशाखालाई निर्देशन दिएको बताए ।
स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले सङ्घ सरकारले विभिन्न ९८ प्रकारका औषधि निश्शुल्क उपलब्ध गराउन भनेको तर त्यसका लागि ४० लाख मात्र रकम विनियोजन गरी पठाएकोले वीरगंज महानगरपालिकामा रहेका सबै स्वास्थ्य चौकीमा औषधि अपुग हुने गरेको बताए ।
उनले यसका लागि सङ्घ सरकारसँग थप बजेट माग गर्दा प्रदेश सरकारसँग थप रकम माग गर्न सुझाइएको र प्रदेश सरकारले थप औषधि खरीदका लागि बजेट नभएको भनेर पन्छिने गरेको बताए ।
वडाध्यक्ष रामकिशोर सिंहले आफ्नो वडाको स्वास्थ्य संस्थामा औषधि नहुने गरेको र स्वास्थ्यकर्मी पनि दुर्लभै भेटिने गरेको गुनासो गरे । उनले महानगरबाट कति औषधि जान्छ भन्ने कुराको आफूसँग तथ्याङ्क भएको खण्डमा सोहीअनुरूप निगरानी बढाउन सकिने बताए ।