काठमाडौं, २८ मङ्सिर/रासस
अर्जेन्टिना कतारमा जारी विश्वकप फूटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ ।
कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए भने खेलको ३९औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औं मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३–० गोलअन्तरको जीत सुनिश्चित ग¥यो ।
जीतसँगै अर्जेन्टिनाले सन् २०१८ मा रूसमा भएको विश्वकपको समूह चरणको खेल क्रोएसियासँग ३–० को हारको बदला पनि लिएको छ ।
क्वार्टरफाइनलमा अर्जेन्टिना र क्रोएसिया दुवै टोली पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई र क्रोएसियाले ब्रजीललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए ।
विश्वकपमा अर्जेन्टिनाको यो छैटौंपटकको फाइनल यात्रा हो ।
अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुर्ईपटक विश्वकप उपाधि जितेको छ ।
सेमिफाइनलको दोस्रो खेल नेपाली समय अनुसार बिहीवार राति १२ः४५ बजेदेखि शुरू हुनेछ ।