प्रस, वीरगंज, २८ मङ्सिर/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजको शैक्षिक क्षेत्र सुधारका लागि सबैको साथको आवश्यकता रहेको बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को महानगर साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख सिंहले वीरगंज महानगरले संस्थागत विद्यालयको वर्गीकरण र शुल्क निर्धारण कार्य नेपालमैं पहिलोपटक गरेको दाबी गरे । उनले यसलाई कार्यान्वयनमा लैजान एकअर्कासँग हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । नगरप्रमुख सिंहले संस्थागत विद्यालयको वर्गीकरण र शुल्क निर्धारणले शिक्षामा आमूल परिवर्तन ल्याउने बताए ।
उनले महानगरले शिक्षालाई विशेष प्राथमिकता दिएको बताउँदै केही कमीकमजोरी र असन्तुष्टि भए सच्याउँदै जान सकिने बताए । उनले निजी विद्यालयको वर्गीकरण गर्नु ठूलो उपलब्धि भएको र यसमा केही त्रुटि भए सच्याउँदै अघि बढ्न सकियो भने वीरगंजको शैक्षिक क्षेत्रले ठूलो फड्को मार्ने दाबी गरे ।
उनले केही व्यक्तिले अनावश्यकरूपमा शिक्षालाई राजनीतीकरण गर्ने दुष्प्रयास गरिरहेको आरोप लगाए । आफूले शिक्षालाई राजनीतिबाट टाढा राखेर सुधार गर्न खोजेको र यसमा सबैको साथ र सहयोग आवश्यक हुने बताए । उनले विद्यालयमा शुल्क बढाउने प्रतिस्पर्धा नगरी शैक्षिक गुणस्तर वृद्धि गर्न प्रतिस्पर्धा हुनुपर्ने सुझाए ।
साधारणसभा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र महानगर समितिका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको थियो ।