प्रस, वीरगंज, २७ मङ्सिर/
पर्सा जिल्लाका १४ वटा पालिकाको कित्ताकाट अझै लम्बिने भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले १४ वटा पालिकामध्ये पर्सा जिल्लाको सखुवाप्रसौनी गापाले मात्र सरकारी मापदण्ड अनुसार कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरेर पठाएको जनाएको छ ।
छ महीनाको अवधिमा पर्सा जिल्लाका केही पालिकाहरूले जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । अहिले वीरगंज महानगरपालिका, सखुवाप्रसौनी र पकाहामैनपुर गापाले मात्र वर्गीकरण गरेका छन् तर यी पालिकाहरूले गरेको वर्गीकरण पनि सरकारी माापदण्ड अनुसार नरहेको मेन्टेनेन्स नापी शाखा वीरगंजका प्रमुख नारायण श्रेष्ठले बताए । उनले आफ्नो कार्यालयमा पकाहामैनपुर गापाले मात्र वर्गीकरण गरेको जनाउ कागज आएको र अन्यको नआएको बताए ।
मालपोत कार्यालय, पर्सामा भने सखुवाप्रसौनी गापाको मात्र जनाउ कागज आएको छ । वीरगंज महानगरपालिकाले मङ्सिर १५ गतेको बोर्ड बैठकबाट सरकारले तोकेको भूउपयोग नियमावली अनुसार कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरेको थियो तर महानगरले वर्गीकरण गरे पनि सो आशयको पत्र भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा र मेन्टेनेन्स नापी शाखामा पुगिसकेको छैन ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले निर्णय पठाइसकेको बताए । महानगरको नक्शा शाखाका प्रादेशिक सल्लाहकार सञ्जय खेतानले महानगरले औद्योगिक, कृषि, आवासीय, सामाजिक, नदी, पोखरी गरी सातवटा क्षेत्रमा वर्गीकरण गरेर सङ्घ तथा प्रदेश सरकारमा पत्राचार गरिसकेको बताए ।
मेन्टेनेन्स नापी शाखा पर्साका प्रमुख श्रेष्ठले पर्सा जिल्लाका पालिकाले सरकारी निर्णय अनुसार वर्गीकरण गर्न नसकेको बताए । उनले स्पष्टरूपमा जग्गाको वर्गीकरण गर्नुपर्ने र सो अनुरूप नक्शा बनाउनुपर्ने बताए । प्रमुख श्रेष्ठले पर्सा जिल्लाका पालिकाहरूलाई नक्शासम्बन्धी सहयोगको लागि नापी शाखा तयार रहेको जनाउ दिए पनि कसैले पनि सहयोग नमागेको बताए । उनले नक्शा बनाउने कार्य तत्काल सम्भव पनि नभएकोले विभागले वर्गीकरण गरेका पालिकाहरूको कित्ताकाट खोल्न सक्ने सङ्केत गरे । भूपउयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेका पालिकाहरूको कित्ताकाट खोल्ने विभागीय तयारी रहेको उनले बताए ।
सरकारले मङ्सिर २३ गतेसम्म देशभरका ७५३ वटै पालिकालाई भूउपयोग नियमावली अनुसार कृषि, गैरकृषि जग्गाको वर्गीकरण गर्न भनेको थियो । जेठ २७ गतेदेखि सरकारले यो नियमावली अनुसार वर्गीकरण गर्न भनेको र वर्गीकरण नगरेका पालिकाहरूको ससीम जग्गाबाहेक कित्ताकाटमा रोक लगाएको थियो ।