ढाका, २७ मङ्सिर/सिन्ह्वा
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्म स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छन् ।
प्रधानमन्त्री हसिनाले बङ्गलादेशले सन् २०४१ सम्म बङ्गलादेशलाई एक विकसित बङ्गलादेश बनाउने बताइन् ।
सोमवार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्–हामीले सन् २०४१ सम्म बङ्गलादेशलाई विकसित बनाउने छौं र बङ्गलादेश स्मार्ट बङ्गलादेश हुनेछ, बङ्गलादेशको एक समाचार समिति, युएनबीलाई उद्धृत गर्दै चिनियाँ समाचार समितिले जनाएको छ ।
बङ्गलादेशको राजधानी ढाकामा सोमवार आयोजना गरिएको ‘डिजिटल बङ्गलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् ।
त्यस अवसरमा उनले स्मार्ट बङ्गलादेश निर्माणका लागि स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाज पनि आवश्यक रहेकोमा जोड दिंदै यी कार्य शुरू गर्ने बताइन् ।
उनले हरेक नागरिकले कुनै न कुनै सीप सिक्नुपर्ने र दक्ष बन्नुपर्ने भन्दै यहाँका हरेक नागरिकलाई प्रविधि प्रयोग गर्न जोड दिइन् । उनले सूचनामा आधारित समाज निर्माणमा जोड दिंदै यहाँका अर्थतन्त्र पनि सूचना प्रविधिमा आधारित रहेर विकास गरिने बताइन् । रासस