फ्र्याङ्कफर्ट, जर्मनी, २१ मङ्सिर/एएफपी

जर्मन प्रहरीले बुधवार राष्ट्रव्यापी छापा मार्ने क्रममा संसद्मा आक्रमणको योजना बनाएको आशङ्कामा अति दक्षिणपन्थी आतङ्कवादी समूहका सदस्यहरू २५ जनालाई गिरफ्तार गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रव्यापी छापा मार्ने क्रममा तीन हजारभन्दा बढी सरकारी अधिकारीसहित आतङ्ककारीविरुद्ध संलग्न रहेका समूहले बिहानको समय कारबाई शुरू गरेको थियो । १३० भन्दा बढी सम्पत्तिहरू खोजी गरेको जनाइएको छ । यस कार्यलाई जर्मन सञ्चारमाध्यमले ठूला प्रहरी कारबाहीमध्ये यो एक भएको बताएको छ ।

 ‘सानो सशस्त्र समूहसँग जर्मन संसद्मा हिंसात्मकरूपमा जबरजस्ती गर्न ठोस तयारी गरेको’ आशङ्का गरिएको ‘रेचका नागरिक’ (रेच्सबर्गर) आन्दोलनका कथित सदस्यहरूलाई लक्षित गरी छापा मारिएको अभियोजनकर्ताहरूले एक विज्ञप्तिमा बताएका छन् ।

पक्राउ परेकाहरूलाई पछिल्लो समय नोभेम्बर २०२१ को अन्त्यसम्ममा एउटा आतङ्कवादी समूह बनाएको आरोप लगाइएको छ ।

यस समूहले जर्मनीमा अवस्थित राज्य व्यवस्थालाई हटाउने र यसलाई आफ्नै प्रकारको राज्यले प्रतिस्थापन गर्ने लक्ष्य राखेको उनीहरूले जानकारी दिएका छन् । पक्राउ परेका २५ मध्ये दुईजना अस्ट्रिया र इटालीका रहेका जनाइएको छ । रेच्सबर्गर आन्दोलनले आधुनिक जर्मन गणतन्त्रको वैधतालाई अस्वीकार गर्ने नवनाजीहरू, षड्यन्त्र सिद्धान्तवादीहरू र बन्दुक उत्साहीहरू समावेश छन् ।

संदिग्ध आतङ्कवादी योजना ध्वस्त गरेकोमा न्यायमन्त्री मार्काे बुशम्यानले ट्वीटरमार्फत प्रशंसा गरेका छन् । यसले जर्मनी आफ्नो लोकतन्त्रको रक्षा गर्न सक्षम भएको देखाएको मार्काेले बताएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here