चुनाव जितेका नेताहरू चाँदीको मुुकुट पहि¥याइ स्वागत गर्ने चलन हाम्रो समाजमा अङ्कुराउन थालेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा विजयी उम्मेदवारलाई उनका कार्यकर्ताले शिरमा चाँदीको मुकुट लगाइदिए । पर्सा निर्वाचन क्षेत्र नं ४ मा नेपाली काङ्ग्रेसबाट विजयी उम्मेदवार रमेश रिजाललाई धोबिनी गाउँपालिकाकी उपाध्यक्षले चाँदीको मुकुट पहि¥याएर स्वागत तथा सम्मान गरिन् । त्यसैगरी, बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ का विजयी उम्मेदवार किसान श्रेष्ठ र ४ (२) बाट प्रदेशसभामा निर्वाचित जीतेन्द्र सोनललाई बाराको इटियाहीमा उनका समर्थकहरूले चाँदीको मुकुट पहि¥याए । फाटफुटरूपमा केही वर्ष पहिलेदेखि नै यो चलन चलेको हो । नेताले बोक्न नसक्ने भारी फूलको माला लगाइदिने चलन अलि पुरानो हो । किलोका किलो फुलको माला लगाइदिने र चाँदीको मुकुट शिरमा सजाइदिने, यो दुवै तरीका वास्तविक सम्मान नभएर विकृति हो ।

उम्मेदवारी दर्तादेखि चुनाव प्रचारप्रसारको क्रममा समेत हुने विकृतिलाई न्यूनीकरण गर्न निर्वाचन आयोगले विभिन्न उपाय लगाइरहेको छ । मङ्सिर ४ को सम्पन्न चुनावमा यसको केही मात्र भएपनि सकारात्मक असर देखियो । आचारसंहिता पूर्णरूपमा पालना भइदिए, निर्वाचनमा उम्मेदवारहरूबीच आर्थिक हैसियतभन्दा पनि योग्यता र क्षमताको प्रतिस्पर्धा हुन सक्छ । तर हाम्रो समाजमा एउटा नकारात्मक पक्षको न्यूनीकरण हुन नपाउँदै अर्को विकृति जन्मन्छ । विकृति जन्माउने होडबाजी चल्छ । विजयी उम्मेदवार सम्बन्धित क्षेत्रका जनप्रतिनिधि हुन् । त्यहाँका नागरिकले उनको स्वागत, सम्मान सम्मानजनकरूपमा गर्न पाउनुपर्छ । यसमा पैसाको दम्भ, एकले अर्कोलाई होच्याउने वा प्रभावित पार्न सक्ने कुनै गतिविधि हुुनुहुँदैन । आज कसैले २० तोला चाँदीको मुकुट उपहार दियो, भोलि अर्कोले उसकोभन्दा धेरै तौलको मुकुट उपहार देला, पर्सि झन् अर्कोले सुनकै मुकुट भेट चढाउला । यसरी महँगो उपहार चढाउनुको एक मात्रै कारण नजीकिनु र आफूप्रति नेतृत्वको ध्यानाकर्षण गराउनु हो । भोलिको दिनमा कसैलाई दलको उपल्लो ओहोदामा उक्लनुपर्छ होला, कसैलाई कुनै तहको चुनावमा टिकट लिनुपर्छ होला वा कुनै व्यक्तिलाई आफूले आँटेको कुनै काम विजयी उम्मेदवारको बलमा फत्ते गराउनुपर्छ होला । यस्तो हो भने महँगो उपहारसहितको फरक खाले सम्मान जनप्रतिनिधिकै लागि घातक हुन्छ । अर्कोतर्फ एउटै दलका नेता, कार्यकर्ताको आर्थिक हैसियत एकै किसिमको छैन भने विभिन्न वर्ग, समुदाय रहेको समाजमा मतदानबाहेक अन्य उपहार दिन सक्ने हैसियत सबैमा हुँदैन । यसो हुँदा आफ्नै नेताको सम्मानमा पनि विपन्न र सम्पन्नबीच विभेदको खाडल बन्न सक्छ । यसले पञ्च ¥यालीको बेला राजाका हनुमानले सुनको प्रतिमा चढाएर राजालाई खुशी पार्ने प्रवृत्तिको पुनरुत्थान हुन सक्छ ।

विवेक भएका राजनीतिक दल र तिनका नेताहरूले स्वागत, सम्मानलगायत कुनै पनि कार्यक्रम तडकभडक, भड्किलो तथा खर्चालु नबनाउनु भनेर आफ्नो मातहतलाई भन्न सक्नुपर्छ । अधिकारप्राप्त निकायको यसतर्फ ध्यान जानु जरुरी छ । जसरी विवाह, व्रतबन्ध, काजक्रिया वा चुनाव प्रचारको क्रममा खर्चको मितव्ययिता अपनाउनुपर्ने प्रवाधानहरू छन्, त्यसैगरी निर्वाचनपछिको स्वागत सम्मानमा पनि कानूनी व्यवस्था हुनुपर्छ । नागरिक समाजले पनि सामाजिक विकृतिविरुद्ध खुलेर बोल्ने र निरुत्साहित गर्ने हिम्मत राख्न सक्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here