प्रमोद यादव, पंचगावाँ, १२ मङ्सिर/
पर्साको राष्ट्रिय वनजङ्गलबाट तस्करहरूले काँचो सालको रूख कटानी गरी तस्करी गरिरहेको स्थानीयले बताएका छन् । पर्साको उत्तरी भेगमा सञ्चालित अवैध समिल र फर्निचर उद्योगमा मध्यरातको समयमा काँचो सालको गुलिया साइकल र काँधमा बोकेर तस्करहरूले ओसार्ने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । वन कर्मचारीको फितलो गस्तीले पर्साका वसन्तपुर, हरैया, भतौडा, सोनवर्षा, गदियानी, मधुवन, मथवल, मानवा, पशुपतिनगर, छातावन टाँडी, बडनिहार, सबैया, सोलखपुरलगायतका क्षेत्रबाट काठको तस्करी भई पकडिया, तामाङटोल बडनिहार, पचरुखी, बहुअर्वा, एकटाँगा, डोकैला बहुअरी, टिकुलिया, सखुवाप्रसौनी, कौवावनकटैया, देउरवाना, निचुटा, देवरियालगायतका क्षेत्रमा रहेका समिल र फर्निचर उद्योगमा काठ पुग्ने गरेको छ ।
सोही काठबाट फर्निचर उद्योगले विभिन्न सामग्री बनाइ सीमावर्ती भारतीय बजारसम्म पुगाउने गरेको छ ।
यस विषयमा डिभिजन वन कार्यालय, पर्साका अधिकृत फरमान मुखिया अन्सारीले सूचना अभावको कारण तस्करी नियन्त्रण गर्न कठिनाइ भएको बताए । उनले खुला सिमाना भएकाले सबै ठाउँबाट तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र सरोकार सबैको सहयोग हुनुपर्ने बताए ।
चालू आवमा दर्जनौं काठ तस्करलाई पक्राउ गरी कारबाई प्रक्रिया अगाडि बढाएको र केहीको खोजी भइरहेको बताए । उनले राजनीतिक दबाबका कारण तस्करी नियन्त्रण गर्न कठिनाइ भएको बताए । अवैधरूपमा सञ्चालनमा रहेका फर्निचर उद्योगको अनुगमन गरी कारबाई गरिने बताए ।