काठमाडौं, १० मङ्सिर/रासस
कतारमा जारी विश्वकप फूटबल अन्तर्गत समूह ‘डी’मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे । खेलको २३औं मिनेटमा मिचेल डुकले गरेको एक गोल नै अस्ट्रेलियाको लागि निर्णायक गोल सबित भयो ।
यस जीतसँगै अस्ट्रेलियाले तीन अङ्क जोडेको छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । यता पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै एक अङ्क जोडेको थियो ।
नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो
कतारमा जारी फिफा विश्वकप फूटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ ।
कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियोे ।
खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४९औं मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ‘ए’मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेका छन् ।
नेदरल्यान्ड्सले दुई खेलमा चार अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेको इक्वेडर चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।
नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० ले हराएको थियो । यस्तै, इक्वेडरले आयोजक कतारलाई २–० ले नै हराएको थियो । यस समूहमा सेनेगल तीन अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट आयोजक कतार भने लगातार दोस्रो हार बेहोर्दै समूह चरणबाट बाहिरिएको छ ।
अमेरिका र इङ्ग्ल्यान्डबीचको खेल गोलरहित बराबरी
कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इङ्ग्ल्यान्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् ।
कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । समूह ‘बी’मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन् ।
समूह ‘बी’मा इङ्ग्ल्यान्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले दुई/दुई वटा खेल खेलिसकेका छन् । अहिलेसम्म इङ्ग्ल्यान्डले इरानलाई ६–२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी चार अङ्क बनाएको छ ।
त्यस्तै, इरानले इङ्ग्ल्यान्डसँग पराजय बेहोरे पनि वेल्सलाई २–० ले पराजित गरी तीन अङ्क बटुलेको छ भने अमेरिकाले वेल्ससँग १–१ तथा इङ्ग्ल्यान्डसँग गोलरहित बराबरी गरी दुई अङ्क बनाएको छ । वेल्स भने इरानसँग हार र अमेरिकासँग बराबर खेली एक अङ्क मात्र बनाएको छ ।
अब यही मङ्सिर १४ गते बुधवार इङ्ग्ल्यान्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुनेछ । दुवै खेल एकै समय राति १२ः४५ मा हुनेछ ।
पोल्यान्डले साउदी अरेबियालाई हरायो
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को खेलमा पोल्यान्डले साउदी अरेबियालाई पराजित गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको खेलमा पोल्यान्डले २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
पोल्यान्डको जीतमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे । साउदीले खेलको पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । खेलको ३९औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्यान्डलाई सुरुआती अग्रता दिलाए । त्यस्तै, खेलको ८२औं मिनेटमा कप्तान रोर्बटले गोल गर्दै पोल्यान्डको जीत सुनिश्चित गरे ।
पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्यान्डले दोस्रो खेलमा जीत हात पारेको हो । बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदीको भने यो पहिलो हार हो ।
पोल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ भने साउदी दोस्रो स्थानमा रहेको छ । पोल्यान्डले चार, साउदी अरेबियाले तीन र मेक्सिकोले एक अङ्क जोडेका छन् । अर्जेन्टिनाले अङ्क जोडेको छैन ।