- डा शिवशङ्कर यादव
चुनावको चटारो र अस्वस्थताको कारण आज मैले एउटा हल्काफुल्का विषय चुनेको छु । हल्काफुल्का किनभने मेडिकलका विद्यार्थीले मात्र होइन, स्वयम् एकेडेमीले पनि यही मानेको बुझिन्छ । त्यो विषय हो दाँतको । चिकित्साशास्त्रमा अन्य विषय पढ्नको लागि बढी शुल्क लाग्छ भने दन्त चिकित्सा पढ्न कम शुल्क लाग्छ । यतिमात्र होइन, प्रतियोगी परीक्षामा कम नम्बर आएकाहरूलाई उसको सहमति अनुसार दन्त चिकित्साको अध्ययनमा पठाइन्छ । तर मेरो विचारमा अति महत्वपूर्ण विषयलाई कम आकलन गरिएको छ । दाँतको महत्व त यसले नै पत्ता लाग्छ कि दिनहुँ यसको हेरचाह र सफाइ गरिएन भने फोहोरी मात्र भइँदैन रोगलाई निमन्त्रण पनि हुन्छ । दाँतको महत्व यसले नै पत्ता लाग्छ कि यसको अध्ययनको लागि छुट्टै मेडिकल कलेज हुन्छ । यतिमात्र होइन, सौन्दर्यको मापन पनि मुखको बनावटले नै गरिन्छ । मुखमा दाँत छैन भने सौन्दर्य प्रतियोगिता त के ‘अग्ली’ प्रतियोगिता पनि जित्न सकिंदैन । दाँतको महत्व यति छ कि केवल त्यो मात्र भेटियो भने लाखौं वर्ष पहिलेको जनावर र उसको उमेर आरामले पत्ता लगाउन सकिन्छ । बुटवलमा भेटिएको दाँतले त्यो पाँच करोड वर्ष पहिलेको र मानवको हो भने पत्ता लाग्यो । दाँतको गिन्तीले नै मानिस वा जनावरको उमेर पत्ता लगाइन्छ । गाईभैंसी किन्दा–बेच्दा कति दाँत छ भनेर सोधिन्छ ।
दाँतको सङ्ख्या मानिस र बाँदरमा बराबर र ३२ वटा हुन्छन् । सार्कमा ३०००, सुङ्गुरमा ४४, सिंह र बिरालोमा ३०, घोडामा ४०, हात्तीमा २५, जिराफमा ३२, हिप्पोमा ४०, स्नेलमा ३०००, सर्पमा २५००० दाँत हुन्छन् । दाँतको प्रकार, आकार र तीक्ष्णता कार्निभोरस र हर्बिभोरसमा अलग–अलग हुन्छन् । केनाइन कार्निभोरसमा ठूलो यस कारण हुन्छ कि उसले शिकार गरेर खानुपर्छ । केनाइनले शिकारको गर्धनमा रोपेर मार्छ र टुक्रा पार्छ र अन्य दाँतबाट चपाउँछ । मानिस वा हर्बिभोरसमा चपाउने दाँत र पगार्ने माथिको दाँतको सट्टा मात्र पैड हुन्छ । हर्बिभोरस हात्तीको मस्क ठूलो भएपनि त्यो केवल हेर्न र अरूलाई डराउनको लागि मात्र हुन्छ ।
प्रत्येक प्राणीमा दाँतका दुई सेट हुन्छन् । पहिलो, मिल्क सेट वा मिल्क टीथ (दूधे दाँत) र अर्को पर्मानेन्ट सेट (स्थायी दाँत) । इम्ब्रायलोजिकली पर्मानेन्ट बड्स बढ्दै जान्छ र मिल्क टीथलाई माथि धकेल्दै जान्छ । हुँदाहुँदा मिल्क टीथ झर्छ र पर्मानेन्ट टीथ बाहिर आउँछ । यो प्रक्रिया एकैसाथ होइन, बरु बिस्तारै हुन्छ र बुद्धि बङ्गारा भने त २५ वर्षपछि नै आउँछ । डाल्फिनमा दाँतको केवल एकमात्र सेट हुन्छ । प्राणीको दाँत यति निश्चित हुन्छ कि उसलाई एउटा डेन्टल फर्मुलाले व्यक्त गर्न सकिन्छ । मानिसको मिल्क टीथको फर्मुला २१२० र पर्मानेन्ट टीथको फर्मुला २१२३ हुन्छ । । यसको मतलब जबडाको आधा भागमा दुई इन्साइजर एक केनाइन, दुई प्रिमोलर दाँत र मोलर जीरो हुन्छ । जम्मा पाँच माथि र तल पनि पाँच भयो । मतलब आधा जबडामा माथि–तल मिलाएर १० वटा दाँत भए । यसलाई दुईले गुणन गरियो भने २० हुन्छ । यसको मतलब यो भयो कि दूधे दाँतको सङ्ख्या २० हुन्छ । स्थायी दाँतको फर्मुला २१२३ हुन्छ । अर्थात् इन्साइजर दुई, केनाइन एक, प्रिमोलर दुई र मोलर तीन हुन्छन् । यसलाई दुईले गुणन गरियो भने ३२ हुन आउँछ ।
मानिसको दाँत माथि र तलको जबडामा फिट हुन्छ । माथिको जबडा दुईटा मैक्जिलरी बोन मिलेर बन्छ । तलको जबडा एउटै मान्डिवुलर बोनले बनेको हुन्छ । यी जबडामा दाँत फिट हुने सकेट बनेका हुन्छन् । यी सकेटहरूको तारतम्य यसरी बनेको हुन्छ कि मुख बन्द गर्दा माथिको दाँत आफ्नो साथी तलको दाँतसँग पूर्णरूपले फिट हुन्छ । यसलाई अक्लुजन भनिन्छ । यसै अक्लुजनको कारणले हामीले भोजन चपाउन र समात्न एउटा फोर्स लगाउँछौं । यस फोर्सलाई अक्लुजन फोर्स वा ह्वाइट फोर्स भनिन्छ । मानिसमा सामुन्नेको केनाइन दाँतको फोर्स ५० देखि १०० पाउन्ड र बाँकी दाँतको फोर्स १५० देखि २०० पाउन्ड हुन्छ । गोहीमा यो फोर्स सबैभन्दा बढी तीन हजार ७०० पाउन्ड हुन्छ । अक्लुजन छैन भने चिकित्सकले त्यसलाई मिलाउनुपर्छ । दुर्घटनामा जब जबडा प्रैmक्चर हुन्छ, तब दाँतलाई डेन्टल सर्जन र कस्मेटिक सर्जनले मिलाउने गर्छन् । दाँतको केवल चपाउने, टोक्ने काम मात्र होइन, यसले फैसियल सुन्दरता पनि प्रदान गर्छ । दाँत त्यो अङ्ग हो, जसलाई हेला गरियो भने पेटमा अपच वा गडबडी मात्र होइन, मुटुरोगको कारण पनि बन्छ । यति महŒवपूर्ण भएपनि हामीले के हे¥छौं भने बुढेसकाल नलागेसम्म कोही पनि दाँतको चिकित्सककहाँ जाँदैनन् । केही दशक पहिले त यस्तो दयनीय हालत थियो वीरगंजमा कि कहीं कोही दाँतको उपचारको नाममा बसेको छ । उनीहरूको काम आफैं फुस्किने दाँतलाई उखेल्नेबाहेक केही थिएन । मान्छे आयो, दाँत उखेल्न लगायो र गयो । यसभन्दा खतरनाक अरू केही होइन । आजभोलि केही सचेतना विस्तारित भइरहेको छ । बच्चाहरूलाई पनि देखाउने बानी बिस्तारै बढ्दै छ ।
तर दन्त चिकित्सा वा देखभाल त्यति नै पुरानो छ, जति पुरानो मानव सभ्यता छ । यसको प्रमाण ७००० र ५५०० बिसीदेखि नै भेटिन्छ । दन्त चिकित्साका पिता सन् १७२३ मा जन्मेका एकजना फ्रान्सेली पियरे फोचार्डलाई मानिन्छ । आधुनिक दन्त चिकित्साको श्रेय डा हेशायरलाई जान्छ । उनी दन्त चिकित्साका साथै असलमा एक चर्चित फिजिसियन थिए ।
दाँतको बनावट : दाँतका दुई भाग हुन्छन् । बाहिर जुन देखिने गरी हुन्छ, त्यसलाई क्राउन र नदेखिने भित्रको भागलाई रूट भनिन्छ । दाँत शरीरको सबैभन्दा बलियो अङ्ग हो र त्यस कारण यसलाई हाडसँग दाजिन्छ तर दाँत हाड होइन । दाँतमा क्याल्शियम, म्याग्नेशियम, पोटाशियम, फास्फोरस र अन्य मिनरल हाड सरह नै भएपनि कोलेजन फाइबर नामक हाडमा हुने तŒव दाँतमा हुँदैन । टुटफुट भएमा यस कोलेजनले त्यसलाई जोड्ने जेलीको काम गर्छ । चिकित्सकले त केवल प्लास्टर गरेर त्यस भागलाई स्थिर मात्र बनाउँछ । बाँकी जोड्ने काम त त्यही जेलीले गर्छ । दाँतमा यही जेली हुँदैन । त्यस कारण दाँत टुट्यो भने जोड्न सकिंदैन । वास्तवमा पल्पबाहेक दाँतका सबै भाग बढेको नङ र कपाल जस्तो मृत नै हुन्छ । दुख्ने कुरा त केवल पल्पमा मौजुद सघन नर्भले हुन्छ । केवल पल्पमा नै दाँतसम्बन्धी नर्भ, रगत र लिम्फैटिक्स हुन्छन् । गिजामा भित्र पस्नुभन्दा ठीक पहिलेको सानो भागलाई नेक भनिन्छ ।
इनामेलः दाँत निस्कनुभन्दा पहिले नै गिजामाथि दाँतलाई छोप्ने एम्लियोब्लास्ट भन्ने तŒवले एउटा हार्ड कैपको रूपमा बनाएर तयार रहन्छ । यो क्याल्शियम, सोडियम, पोटाशियम, म्याग्नेशियम र फास्फोरस आदि तŒवले यति सा¥हो बनेको हुन्छ कि कुनै अम्ल वा क्षारमा यो घुलनशील हुँदैन र इनामेललाई बिगार्न सक्दैन । तर पनि हाइली एसिडमा क्याल्शियम अलि घुल्न सक्छ र केरिजको कारण बन्छ । यो हाडभन्दा पनि बढी कडा हुन्छ तर एकपटक दाँतमा फिट भएपछि बनिरहँदैन । यही कारण हो कि दाँत पुरानो भएपछि अमिलो खाएपछि दाँत सिरिङ हुन्छ । यति कडा भएपनि यो हाड होइन । कपालको किरैटिन जस्तो निर्जीव हुन्छ । रूट त्यो भाग हो, जुन गिजाभित्र जान्छ । यो चारैतिरबाट घेरिएर इनामेल जस्तै एउटा कडा संरचनाले बनेको हुन्छ, जसलाई डेन्टिन भनिन्छ । कडा त यो पनि हुन्छ तर इनामेलभन्दा कम । इनामेल जस्तो डेन्टिन पनि कडा तर सघन हुन्छ । यसमा हड्डीजस्तो नर्भ, रगत र बोनसेल्स अर्थात् ओस्टियोब्लास्ट, ओस्टियोक्लास्टहरू हुँदैनन् । यो ओडन्टोब्लास्ट नामक एक सेल मेम्ब्रेनबाट पोषण प्राप्त गर्छ, जुन चारैतिरबाट पल्पलाई घेर्छ ।
सिमेन्टम : डेन्टिनलाई कभर गर्ने अर्को एउटा कडा पदार्थ हो, जसले दाँतलाई जबडाको सकेटमा समातिराख्ने एक मजबूत एडहेरेन्टको काम गर्छ ।
पल्प : यही दाँतको सबैभन्दा सेन्ट्रल क्याभिटी हो, जसमा दाँतसम्बन्धी सबै नर्भ, रगत र लिम्फैटिक कोषहरू हुन्छन् । दाँतको कुनै पनि रोग जब यस क्याभिटीसम्म पुग्छ अनिमात्र दाँतको दुखाइ महसूस हुन्छ ।
दूधे दाँत २० वटा हुन्छन्, जो जन्मेको सात वा आठ महीनामा आउन शुरू हुन्छ र दुई वर्षभित्र सबै निस्की सक्छ तथा ११ देखि १३ वर्षसम्म रहन्छ । कुपोषणले दाँत आउनमा विलम्ब हुन सक्छ ।
दाँतमा हड्डीसरह नै मिनरलहरूको रिअब्जर्भेसन र डिपोजिसन निरन्तर भइरहन्छ । अर्थात् दाँतका पुराना मिनरलहरू अब्जर्भ हुँदै र त्यस ठाउँमा नयाँ डिपोजिट हुँदै जान्छ ।
सिमेन्टममाः यो लगभग हड्डीको अनुपातमा र रफ्तारमा नै हुन्छ तर डेन्टिनमा मात्र एक तिहाइ हुन्छ । इनामेलमा धेरै नै कम वा हुँदैहुँदैन भने पनि हुन्छ ।
पाठकवृन्दले मेरो लेखमा केवल शरीररचना र शरीरक्रिया विज्ञानको चर्चा नै भएको अवश्य नोट गर्नुभएको हुनुपर्छ । रोगको चर्चा अलग्गै वर्णनको माग गर्छ र यसको सिलसिला शुरू भएको छैन । केही साधारण रोगका बारेमा अलिअलि बताएको छु । त्यस्तै, दाँतका रोगमा मुख्यतः केरिज र मालओक्लुजन आउँछ । केरिज डेन्टल प्लेकले विकसित हुन्छ । प्लेक भने ¥यालसँग खाना मिलेर बनाउने एक परत हो, जो दाँतमा टाँसिएर बस्दै जान्छ । जति सफा गरे पनि यो त बन्छ नै । त्यसैले प्रत्येक छ/छ महीनामा कुशल दन्त चिकित्सकबाट दाँतको सफाइ गराइराख्नुपर्छ । चेतनाको कमीका कारण यस्तो गराउनेको सङ्ख्या नगन्य नै छ । यो प्लेक स्ट्रेप्टो कोकस म्युटेन्स नामक ब्याक्टेरियाको खजाना हो । यसको सम्बन्ध बढी कार्बोहाइड्रेट खानेसँग होइन, छिटोछिटो कार्बोहाइड्रेट खाने र राम्ररी सफाइ नगर्नेसँग छ । त्यसैले केटाकेटीमा यो बढी देखिन्छ, जसले बढी चकलेट वा गुलियो कुरा खाइरहन्छन् । यसले दाँतमाथि आक्रमण गरेर पहिले क्याल्शियमलाई घुलनशील बनाएर कैभिटी बनाउँछ । त्यसमा खानाको थप डेब्रिस जम्मा हुँदै जान्छ र कैभिटी बढ्दै जान्छ । सचेत मानिस चिकित्सककहाँ पुग्छ र चिकित्सकले मिलायेर कैभिटी भरिदिन्छन् ताकि थप डेब्रिस त्यसमा प्रवेश पाउन नसकोस् । हेला गरियो भने त्यो कैभिटी बढ्दै जब पल्प कैभिटीसम्म पुग्छ, तब दाँतलाई उखेल्नुबाहेक केही उपाय रहँदैन । डेन्टल अब्सेस र जिन्जिभाइटिस पनि दाँतको रोग अन्तर्गत नै आउँछन् । जिन्जिभाइटिस मतलब पाइरिया जुन भिटामिन सीको कमी र कुपोषणले हुन्छ । मालओक्लुजनमा हामीले के हेर्छौं भने मुख बन्द गर्दा माथिको दाँत तलको दाँतसँग मिलेको हुँदैन । कसैको माथिको दाँत बाहिर निस्केको हुन्छ भने कसैको तलको । यो प्रायः अनुवांशिक हुन्छ वा दूधे दाँत झरेपछि स्थायी दाँत राम्ररी बाहिर नआएकोले हुन्छ । यो कस्मेटिक उपचारको भागमा आउँछ । बुढेसकालमा सबै दाँत झरेपछि कस्मेटिक डेन्चर पनि पाइन्छ, जसबाट प्राकृतिक दाँत जस्तो चपाउन सकिंदैन । त्यस कारण आज वैज्ञानिकले झरेको दाँतलाई फेरि उमार्ने उपायमा लागेका छन् । यो भयो भने त्यो धेरै क्रान्तिकारी हुनेछ किनभने दाँतको महŒव सर्वाधिक छ । अस्तु ।