- उमाशङ्कर द्विवेदी
कर्णलाई ठूलो आपत्तिमा परेको हेरेर दुर्योधनले अलायुधसित भने– कर्ण घटोत्कचको साथमा भिडिरहेका छन् र युद्धमा घटोत्कचले महान् पराक्रम प्रदर्शन गरिरहेको छ । वीरवर, जस्तो तिम्रो इच्छा थियो, त्यसै अनुसार नै यस संग्राममा घटोत्कच तपाईंको भागमा परेको छ, अब तिमीले पुरुषार्थ गरेर यसको नाश गर । यो पापीले आफ्नो माया–बलको आश्रय लिएर कतै कर्णलाई पहिला नै मारिदेओस्–यसको विचार राख्नु ।
दुर्योधनले यस्तो भनेपछि अलायुधले घटोत्कचमाथि धावा गरिदियो । भीमसेनको पुत्र घटोत्कचले आफ्नो शत्रुलाई आफूतिर आइरहेको हेरेर कर्णलाई छाडी अलायुधमाथि बाण हानेर पीडित पार्न थाल्यो, फेरि दुवै राक्षस क्रोधित भएर एकअर्कासित भिड्न पुगे । घटोत्कचलाई भयानक अलायुधको चङ्गुलमा फसेको हेरेर भीमसेन आफ्नो तेजस्वी रथमाथि बसेर बाणवृष्टि गर्दै त्यहाँ आइपुगे । यो हेरेर अलायुधले घटोत्कचलाई छाडेर भीमसेनलाई हाँक दिंदै र उसका साथी राक्षसहरूले पनि नानाथरीका हातहतियार लिएर भीमसेनमाथि नै जाइलागे । धेरै राक्षसले एकैसाथ बाणवर्षा गर्न थालेपछि महाबली भीमसेनले पनि प्रत्येक राक्षसलाई पाँच/पाँचवटा बाण हानेर सबैलाई घाइते पारिदिए । भीमसेनको साथमा युद्ध गर्ने त्रूmर राक्षसहरू उनको मारबाट पीडित भएर भयङ्कर चित्कार गर्दै दशौं दिशामा भाग्न थाले । यो हेरेर अलायुध भीमसेनतिर बडो वेगले दौडिंदै उनीमाथि बाणवर्षा गर्न थाल्यो । उसले भीमसेनले हानेका कैंयन बाणलाई काटिदियो तथा कैंयन बाणलाई हातमैं समात्यो । भीमसेनले पुनः उसमाथि बाणवर्षा गरे तर उसले आफ्ना तीक्ष्ण बाण हानेर त्यसलाई पुनः व्यर्थ पारिदियो । फेरि उसले भीमसेनको धनुषको पनि टुक्रा–टुक्रा पारिदिएर घोडा र सारथीको काम पनि फत्ते पारिदियो । घोडा र सारथि मारिएपछि भीमसेनले रथबाट ओर्लेर भयङ्कर गर्जना गरेर त्यस राक्षसमाथि बडो भयङ्कर गदाको प्रहार गरे । अलायुधले पनि गदाबाट नै त्यस गदालाई मारी खसाल्यो । अनि भीमसेनले अर्को गदा हातमा लिई त्यस राक्षससित तुमुल युद्ध गर्न थाले । त्यति बेला एकअर्कामाथि गदाको आघातबाट जुन भयङ्कर शब्द निस्कन्थ्यो, त्यसबाट पृथ्वी काम्न थाल्थ्यो । अलिक बेरपछि गदा फालेर दुवैले एकअर्कामाथि मुड्की हान्दै युद्ध गर्न थाले । उनीहरूको मुड्कीको आवाज बिजुली कड्केको आवाज जस्तै हुन्थ्यो । यस प्रकारले युद्ध गर्दागर्दै दुवै क्रोधले मुर्मुरिएर रथका पाङ्ग्रा, धुरा आदि अन्य उपकरण जे पनि नजीक देखिन्थ्यो त्यसैलाई उचाल्दै एकअर्कामाथि हान्न थाले । दुवैको शरीरबाट रगतको खोलो नै बग्न थालेको थियो ।
भगवान् श्रीकृष्णले यो अवस्था हेरेर भीमसेनको रक्षाको लागि घटोत्कचसित भने– महाबाहो, हेर, तिम्रोसामु नै सबै सेनाले हेर्दाहेर्दै अलायुधले भीमसेनलाई आफ्नो चङ्गुलमा पारेको छ । त्यसैले पहिला अलायुधको नै वध गर, अनि मात्र कर्णलाई मार्नु । श्रीकृष्णको कुरा सुनेर घटोत्कचले कर्णलाई छाडी अलायुधसित गई भिड्यो । अनि त त्यस रात्रिकालमा ती दुवै राक्षसबीच तुमुल युद्ध हुन थाल्यो । अलायुध क्रोधले मुर्मुरिएको थियो, उसले एउटा अजङ्गको परिघ उचालेर घटोत्कचको टाउकोमा नै हान्यो । त्यसको चोटबाट घटोत्कचलाई अलिक मूर्छाझैं आयो तर त्यस बलवान्ले आफूलाई संयत पारेर अलायुधमाथि एउटा अजङ्गको गदा हान्यो । वेगबाट हानिएको त्यस गदाले अलायुधको घोडा, रथ र सारथिलाई पिधेंर चूर्ण बनाइदियो ।
अलायुध राक्षसी मायाको आश्रय लिएर आकाशमा उडेर गयो । ऊ माथि आकाशमा जाने बित्तिकै आकाशबाट रगतको वर्षा हुन थाल्यो । आकाशमा कालो बादल छायो, बिजुली चम्कन थाल्यो, भयङ्कर आवाजको साथ वज्रपात हुन थाल्यो । उसको राक्षसी माया हेरेर घटोत्कच पनि त्यसै राक्षसी मायाको आश्रय लिएर आकाशमा उडेर गई अर्को मायाको रचना गरेर अलायुधको मायाको नाश गरिदियो । यो हेरेर अलायुधले घटोत्कचमाथि ढुङ्गाको वर्षा गर्न थाल्यो तर घटोत्कचले आफ्नो बाणको झरीबाट ती ढुङ्गाहरूलाइ नष्ट गरिदियो । फेरि दुवैले एकअर्कामाथि नाना प्रकारका आयुधहरूको वर्षा गर्न थाले । फलामे परिघ, शूल, गदा, मूसल, मुगदर, पिनाक, तरबार, तोमर, प्रास, कम्पन, नाराच, भाला, बाण, चक्र, बन्चरो, फलामका गोलाहरू, भिन्दिपाल, गोशिर्ष र उलूखन आदि अस्त्रशस्त्रबाट तथा पृथ्वीबाट उखेलिएका वर, पाकड, पीपल र सिमल आदि ठूला ठूला वृक्षहरूबाट एकअर्कामाथि प्रहार गर्न थाले । नाना प्रकारका पर्वतका चुचुराहरूलाई पनि उखेलेर एकअर्कामाथि प्रहार गर्न थाले । दुवैले एकअर्काको शिखा समातेर आपस्तमा गुत्थम–गुथा भएर युद्ध गर्न थाले । यसैबेला घटोत्कचले अलायुधलाई बलपूर्वक समातेर बडो जोडले जमीनमाथि पछा¥यो । अनि उसको छातीमा चढेर कुण्डलमण्डित मस्तक काटेर घटोत्कचले भयङ्कर गर्जना गरेर लाशलाई दुर्योधनको सामु फालिदियो । अलायुधलाई मारिएको हेरेर दुर्योधन आफ्नो सेनासहित अत्यन्त व्याकुल भए । क्रमशः …