प्रस, वीरगंज, ८ मङ्सिर/
पर्सा जिल्लामा २०७४ सालको चुनावमा प्रतिनिधिसभाका चारमध्ये तीनवटा क्षेत्र र प्रदेशसभाका आठमध्ये पाँचवटा क्षेत्र जितेको जनता समाजवादी पार्टी (जसपा)ले यसपटक एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा सदस्यमा मात्र जीत हासिल गरेको छ ।
क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रदीप यादव, प्रदेशसभामा १ (२)मा लालबाबूराउत गद्दी र ४ (२)मा सिंहासन साह कलवार गरी तीनजना उम्मेदवार जीत हासिल गरेका छन् । यसअघि प्रतिनिधिसभाका तीनवटा क्षेत्र र प्रदेशसभामा क्षेत्र नं १ (१), १ (२), ३ (१), ३ (२) र ४ (२)मा विजय हासिल गरेको थियो । तत्कालीन मधेसी जनअधिकार फोरम र राजपा गठबन्धनबाट क्ष्Fेत्र नं ४ मा राजपाका लक्ष्मणलाल कर्ण जितेका थिए । यसैगरी, राजपाले पर्सा क्षेत्र नं २ (२)को प्रदेशसभा सदस्यमा पनि जितेको थियो ।
अहिले लोसपा भएको तत्कालीन राजपाका क्षेत्र नं २ (२) बाट रमेशप्रसाद कुर्मीले पुनः जीत हासिल गरेका छन् । योबाहेक लोसपाका कुनै उम्मेदवारले पर्सा जिल्लामा जितेका छैनन् । क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा जितेका लक्ष्मणलाल कर्ण पर्सा क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडे पनि जमानत जोगाउन सकेनन् । २०७४ को चुनावमा प्रदेशसभामा २ (१) र ४ (१) गरी दुई सिट मात्र जितेको नेपाली काङ्ग्रेसले यो चुनावमा सबैभन्दा बढी सिट जितेको छ । प्रतिनिधिसभामा क्षेत्र नं २ बाट अजय चौरसिया, ४ बाट रमेश रिजाल, प्रदेशसभामा क्षेत्र नं २ (१)बाट श्याम पटेल, ३ (२)बाट जनार्दनसिंह क्षत्री र क्षेत्र नं ४ (१)बाट शङ्कर चौधरीले प्रदेशसभाका चारवटा सिट जितेका छन् ।
२०७४ सालमा एक सिट पनि नजितेको नेकपा एमालेबाट भने प्रतिनिधिसभा क्षेत्र नं ३ बाट राजकुमार गुप्ता जितेका छन् । प्रदेशसभामा एमालेले एक सिट पनि जित्न सकेन ।
यसैगरी, २०७४ सालमा एक सिट पनि नजितेको माओवादीबाट पर्सा क्षेत्र नं १ (१)बाट प्रदेशसभा सदस्यमा रहबर अन्सारी विजयी भएका छन् ।