प्रस, महोत्तरी, ३ मङ्सिर/
महोत्तरीको गौशालाबाट नमूना मतपत्रलगायतका निर्वाचन सामग्रीसहित दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ। बर्दिबास नगरपालिका–१ का ७४ वर्षीय भवानीबहादुर थापा र बर्दिबास नगरपालिका–५ का ३९ वर्षीय पदम पौडेललाई १९४ थान नमूना मतपत्र, निर्वाचन सामग्रीसहित पक्राउ परेको प्रहरी निरीक्षक विशाल सिंहले बताए। उनीहरूलाई गस्ती टोलीले गौशाला नगरपालिका–१० बटौवाबाट पक्राउ गरेको उनले बताए। वाग्मती प्रदेश–३–०१ ०२३ च ३७८० नम्बरको गाडीको डिक्कीभित्र मतपत्र लिएर जाँदै गरेका उनीहरूलाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिए।