काठमाडौं, २६ कात्तिक/रासस
मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमतिपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो ।
बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन, दूध बोक्ने सवारीसाधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन, अस्पतालमा कार्यरत परिचयपत्रप्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधनका लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ ।
यस्तै, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेसपास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्रवाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन निर्बाधरूपमा सञ्चालन हुनेछन् ।
निर्वाचन आयोगबाट जारी परिचयपत्रवाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने नीलो नम्बर प्लेट भएका सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएका सवारीसाधनका लागि पास नचाहिने आयोगले जनाएको छ ।
सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधन मतदानका दिन निर्बाधरूपमा सञ्चालन हुन पाउनेछन् । अत्यावश्यक सेवाका सवारीसाधन मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ ।