प्रस, वीरगंज, २३ कात्तिक/
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको आयोजनामा बुधवार निश्शुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर, वीरगंज सामुदायिक आँखा अस्पताल र प्रभु अस्पतालको संयुक्त आयोजना तथा रूँगटा वेलफेयर सोसाइटीको सहयोगमा आदर्शनगरस्थित चियापसलहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिएको र निश्शुल्क औषधि वितरण गरिएको ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानले बताए ।
शिविरमा १३० जना महिला, १७० जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको र आवश्यक औषधि उपलब्ध गराइएको उनले बताए । खेतानको अध्यक्षतामा भएको घुम्ती शिविरको उद्घाटन जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले गरेका थिए ।
शिविरमा प्रभु अस्पतालका डा अजय साह, वीरगंज सामुदायिक आँखा अस्पतालका प्रभात चौरसिया, कुसुम मुडभरी, सञ्जीतकुमार साहलगायतले प्राविधिक सहयोग गरेका थिए भने वीरगंज सामुदायिक आँखा अस्पतालका संयोजक महेशसिंह धामी, व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीलगायतको सहभागिता थियो ।