प्रस, वीरगंज, २० कात्तिक/
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा जिल्लामा सत्तारूढ गठबन्धनबाट नेपाली काङ्ग्रेस र जसपा–एमाले गठबन्धनबाट जसपाका बागी उम्मेदवारहरू बढी देखिएका छन् ।
पर्सा क्षेत्र नं १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्ण प्रतिनिधिसभाका उम्मेदवार छन् । उनीविरुद्ध नेकाका पूर्वसभापति अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट यसअघि २०७० सालको आमनिर्वाचनमा उनी निर्वाचित पनि भएका थिए तर यसपटक टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा छन् ।
क्षेत्र नं १ (१)बाट वाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभामा माओवादीका रहबर अन्सारी उम्मेदवार छन् । उनीविरुद्ध नेकाका सुधीर पटेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पटेल नेपाल विद्यार्थी सङ्घका सदस्य हुन् ।
पर्सा क्षेत्र नं ३ (१) प्रदेशसभा सदस्यमा सत्तारूढ वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादीका छोटेलाल यादव उम्मेदवार छन् । यो क्षेत्रबाट नेकाका चन्द्रकिशोर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । चौधरी गत चुनावमा नेकाबाट टिकट पाएर पराजित भएका थिए ।
क्षेत्र नं ३ (२)बाट वाम लोकतान्त्रिक गठबन्धनबाट दुईजना उम्मेदवार छन् । नेकाबाट जनार्दनसिंह क्षत्री र नेकपा (एकीकृत समाजवादी)बाट प्रह्लाद गिरी उम्मेदवार छन् । गत चुनावमा क्षत्री गिरीसँगै ९७ मतअन्तरले पराजित भएका थिए । सो चुनावमा गिरी जसपाबाट उम्मेदवार थिए । यो चुनावअघि उनी एमालेमा प्रवेश गरेका थिए तर टिकट नपाएपछि नेकपा (एस)बाट चुनावी मैदानमा छन् । यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट दुईजना आधिकारिक उम्मेदवार रहेका कारण मित्रवत् प्रतिस्पर्धाको नारा चलाइएको छ ।
क्षेत्र नं ४ (१) मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेकाका शङ्कर चौधरी चुनावी मैदानमा छन् । यहाँ माओवादी केन्द्रका वीरेन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यादव जसपा परित्याग गरी हालै माओवादीमा समाहित भएका हुन् । उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसैगरी, जसपा–एमाले गठबन्धनमा पनि बागी उम्मेदवारहरू देखिएका छन् । पर्सा क्षेत्र नं १ (१) मा गठबन्धनले एमालेका विचारी यादवलाई टिकट दिएपछि यसअघि प्रदेशसभामा विजयी जसपाका जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विचारी यादव पहिलो संविधानसभामा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । अहिले उनी प्रदेशसभामा चुनाव लडिरहेका छन् ।
क्षेत्र नं २ (२) बाट एमाले–जसपा गठबन्धनले एमालेका हरेराम पटेललाई टिकट दिएपछि जसपाका तीनजना उम्मेदवार बागी बन्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपाका रूपेशमान सिंह, मुकेश द्विवेदी र करीमा बेगम स्वतन्त्र उम्मेदवार हुन् । बेगम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर राज्यमन्त्रीसमेत बनिसकेकी छन् । अहिले उनी स्वतन्त्र उम्मेदवार छन् ।
यसैगरी, क्षेत्र नं ३(१)मा एमाले–जसपा गठबन्धनबाट एमालेका मन्जुर अन्सारीले टिकट पाएपछि जसपाका प्रमोद जयसवाल र एमालेका नीरराज गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गिरी र अन्सारी हालै एमालेमा प्रवेश गरेका र अन्सारीले टिकट पाएपछि उनी बागी भएर स्वतन्त्र उमेदवारी दिएका हुन् । क्षेत्र नं ४ को (१)मा एमालेका जयप्रकाश थारूले टिकट पाएपछि जसपाका जरी लामा स्वतन्त्र उम्मेदवार बनेका छन् । थारू यसअघि प्रतिनिधिसभा सदस्यमा पनि निर्वाचित भइसकेका छन् । अहिले उनी प्रदेशसभामामा चुनाव लड्दै छन् । ४ (२)मा गठबन्धनबाट जसपाका सिंहासन कलवारले टिकट पाएका छन् भने उनको विरुद्ध एमालेका प्रह्लाद साह कानू स्वतन्त्र उम्मेदवार छन् । सिंहासन यसअघि निर्वाचित भएका थिए भने प्रह्लाद साह कानू छिपहरमाई गापाका अध्यक्ष, एमाले जिल्ला सचिव मनोज गुप्ताका पिता हुन् ।