प्रस, रौतहट, १९ कात्तिक/
रौतहट जिल्लाको सदरमुकाम गौरमा सरसफाइ फितलो हुँदै गएको छ । गौर नगरपालिका कार्यालयले सरसफाइमा ध्यान नदिएको शहरका नालाहरू जाम छन् ।
नाला जाम भएर पानी जम्नेलगायतका कारणले लामखुट्टेको प्रकोप बढेर डेङ्गु रोग बढ्दै गएको छ ।गौर नगरपालिका कार्यालयअगाडिदेखि प्रभात चोकसम्म करीब पाँच सय मिटर लामो नाला महीनौंदेखि जाम छ ।
डेङ्गु रोगविरुद्ध औषधि छर्कने जस्ता काम गरेको गौर नपा कार्यालयको यसप्रति ध्यान गएको छैन ।
नगरप्रमुख शम्भु साहले नगरको सरसफाइमा ध्यान दिनुपर्ने स्थानीयवासीले बताएका छन् । विजयादशमी, दीपावली र छठ पर्व फोहर पानीमा आवतजावत गरी नगरवासीले मनाएका छन् ।
जनप्रतिनिधि जनताको समस्याप्रति उदासीन रहेको नगरवासीको भनाइ छ ।
नगरप्रमुख साहले नगरपालिकाका सरसफाइ कर्मचारीलाई सही ढङ्गले परिचालन नगर्दा नगर प्रदूषित हुँदै गएको स्थानीयवासीले बताए ।