प्रस, वीरगंज, १८ कात्तिक/

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचारमा शिक्षक, कर्मचारी र निर्वाचित जनप्रतिनिधिहरूको सहभागितालाई वर्जित गरे पनि पर्सा जिल्लामा यी तीनै तहका मानिसहरू निर्वाचन प्रचारप्रसारमा संलग्न रहेका पाइएको छ ।

उम्मेदवारी दर्ता गर्दादेखि घरदैलो र अहिले जनसभा, कोणसभा शुरू भइसक्दा पनि शिक्षक, कर्मचारी, जनप्रतिनिधिहरू लुकीछिपी चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् । मनोनयन दर्तामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू खुलेर लागेका थिए । यसैगरी, घरदैलोमा पनि केही जनप्रतिनिधिहरूको प्रत्यक्ष संलग्नता देखिएको थियो ।

अहिले निर्वाचन आयोग आचारसंहिता पालनाको कुरामा पहिलेभन्दा कठोर भएपछि जनप्रतिनिधिहरू लुक्न थालेका हुन् । मनोनयन दर्तामा वीरगंज महानगरका प्रमुख राजेशमान सिंह आफू निर्वाचित पार्टीका उम्मेदवारहरूको मनोनयन दर्ता गर्न खुलेआम सहभागी भएका थिए । त्यसपछि उनी अहिले चुनावी प्रचारप्रसारबाट टाढिएका छन् । निर्वाचन आचारसंहिता उल्लङ्घनमा कारबाईमा पर्ने भनेर उनी हचकिएका हुन् । निर्वाचन आयोगले निर्वाचित भइसकेपछि हरहिसाब नबुझाउँदा उनलाई जरिवाना गरेको र अब पुनः निर्वाचन आचारसंहितामा कारबाई हुन सक्ने देखेर उनी निर्वाचनको कार्यक्रमबाट टाढिएका हुन् ।

जसपाबाट जितेका उनी पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव, प्रदेशसभा सदस्य एवं प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीको चुनावी प्रचारमा खुलेर लागेका थिए । पछि उनी लुकेपछि यादव र गद्दीसँग उनको मनमुटाव भएकोले चुनावी प्रचारमा सहभागी नभएको हल्ला पनि चलेको थियो तर वास्तविकतामा उनी आयोगले आचारसंहिता उल्लङ्घनमा कारबाई गर्ने भनी टाढिएका हुन् ।

पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान पनि नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ताको पक्ष्Fमा खुलेर लागेका थिए । मनोनयन दर्ता, घरदैलो कार्यक्रममा उनको प्रत्यक्ष संलग्नता थियो तर उनले पनि निर्वाचित भएपछि हरहिसाब नबुझाउँदा दण्डित भएको र पुनः आचारसंहिता उल्लङ्घनमा कारबाई हुन सक्ने भनेर प्रचारप्रसारबाट टाढिएका छन् ।

पर्सा क्षेत्र नं ४ बाट लोकतान्त्रिक वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकाका रमेश रिजालको पक्षमा जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादव खुलेर लागेका थिए । उनी पनि अहिले थप कारबाईको भयले चुनावी प्रचार अभियानमा लुकीछिपी सहभागी भइरहेका छन् । सोही क्षेत्रबाट जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार जालीम मियाँको पक्षमा ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठ पनि चुनावी प्रचारमा देखिएका छन् । पछिल्लो समयमा उनले पनि अन्य जनप्रतिनिधिजस्तै लुकीछिपी चुनावी प्रचारमा सघाउन थालेका छन् । नगरप्रमुख, गापा अध्यक्षहरू लुकेर चुनावी प्रचारमा सहभागी हुन थालेपछि अहिले यसको असर वडाध्यक्ष, सदस्यहरूमा पनि परेको छ । उनीहरू पनि मास्क लगाएर, क्यामरामा नआउने गरी चुनावी प्रचार अभियानमा लागेका छन् ।

शिक्षक, कर्मचारीको हकमा आयोगले सम्बन्धित कार्यालयलाई सहभागी कर्मचारीलाई स्पष्टीकरण सोध्ने, कारबाई गर्ने अख्तियारी दिएको छ । पर्सा जिल्लामा अधिकांश शिक्षक राजनीतिमा जोडिएका छन् र उनीहरूको संलग्नता पनि चुनावी प्रचारमा लुकीछिपी छ । कर्मचारीहरू पनि मास्क लगाउने र उम्मेदवारभन्दा टाढा रहेर क्यामरामा नपर्ने गरी चुनावी प्रचारमा खटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here