प्रस, ठोरी, १८ कात्तिक/
नेपालीहरूको महान् पर्व दीपावली र छठको अवसरमा ब्रह्मज्योति स्पोट्र्स क्लब, ठोरी–३ द्वारा आयोजित ब्रह्मज्योति गोल्डकप फूटबल प्रतियोगिताको उपाधि अगम युवा क्लब, ठोरी–३, शिकारीवासले जितेको छ । आज सम्पन्न फाइनल खेलमा निर्मल समाज क्लब, ठोरी–१ लाई २–१ गोलअन्तरले शिकारीवास विजयी भएको हो । शिकारीवासको तर्फबाट जर्सी नं १४ का कृपा चौधरीले दुई गोल गरी आफ्नो टीमलाई उपाधि दिलाए । निर्मल समाज क्लबका जर्सी नं २ का मनीष गिरीले एक गोल मात्र गरी उपविजेतामा चित्त बुझाए ।
विजेता तथा उपविजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । हजारौं खेलप्रेमी दर्शकहरूको माझमा प्रमुख अतिथि रिजालले आफूले धेरै समयपछि यस्तो उत्कृष्ट खेल प्रत्यक्षरूपमा हेर्न पाएको बताउँदै ठोरीलाई फूटबल खेललगायतका अन्य खेलहरूमा आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेशका निवर्तमान सांसद शङ्करप्रसाद चौधरीले प्रदेश सरकारको तर्फबाट ठोरीमा आधुनिक स्टेडियम निर्माण कार्य भइरहेको हुँदा आगामी दिनमा ठोरीका विभिन्न वडाहरूमा आधुनिक खेलमैदान निर्माण गरिने उद्घोष गरे । अर्का विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका मधेस प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले खेलको माध्यमबाट खेलाडीहरूले समाज र देशको नाम राख्ने हुँदा खेलहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे । अर्का विशिष्ट अतिथि ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले ठोरी गाउँपालिकाका खेलाडीहरूलाई प्रोत्साहन गर्ने तयारी भइरहेको बताइन् । पूर्ववडाध्यक्ष सूर्यबहादुर लामाले आगामी दिनहरूमा पनि यस्ता उत्साहपूर्ण खेल आयोजना गर्न युवाहरूलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आजको खेलको ‘म्यान अफ दी म्याच’ अगम युवा क्लब, शिकारीवासका जर्सी नं ८ का लक्ष्मण चौधरी घोषित भएको खेल संयोजक हीरा तामाङले जानकारी दिए ।
प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक शिकारीवासका दिनमन चौधरी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी निर्मल समाज क्लबका जर्सी नं ११ का रितेश क्षेत्री घोषित भए ।
प्रतियोगिता अवधिमा सबैभन्दा बढी गोल गर्ने खेलाडी शिकारीवासका जर्सी नं १४ का कृपा चौधरीलाई चाँदीको जुत्ता प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष पन्नालाल विष्टले जानकारी दिए ।
प्रतियोगिताको समापन सत्र खेल संयोजक हीरा तामाड्ढो सभापतित्वमा सञ्चालन भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य बुद्धलाल तामाङले राखेका थिए र सहजीकरण सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूले विजेतालाई रु १ लाख ५ हजार १ सय १ र उपविजेतालाई रु ५३ हजार १ सय १ पुरस्कार प्रदान प्रदान गरेका थिए ।