• राजेश मिश्र

 “दीपावली आ छठ निमन से बितल ह नु ? तबियत कैसन बा ?” छठको भोलिपल्ट घरदैलोमा निस्केका उम्मेदवार एक मतदाताको द्वारमा पुगे । भलाकुसारी शैलीमा भ्याएसम्म अपनत्व दर्शाउन थाले । उनी मतदाताको घरदैलोमा आउनुको कारण अकारण थिएन । यद्यपि मतदाताको द्वारमा पारिवारिक स्थिति बुझ्न आएझैं अभिनय गर्न थाले ।

मतदाताको घरअगाडि झमडामा लटरम्म फलेको लौकी हातले सुम्सुम्याउँदै मतदाताको परिश्रमको बखान, सिङ्गान बगिरहेको बच्चालाई म्वाइँ खाँदै चिकित्सक बन्ने भविष्यवाणी गर्नुका साथै निर्वाचित भए पक्की घर बनाइदिने जस्ता आश्वासन दिन भ्याएछन् । यतिमात्र कहाँ हो र १ त्यसपछि रोगले थला परेकी मतदाताकी वृद्धा आमाको आशीर्वाद हात पार्न नजीक पुगेछन् । अद्र्धचेत वृद्धालाई कारुणिक स्वरमा आमा भन्दै ढोग्ने अभिनयसम्म गरे । स्वयम् वृृद्धाको हात उचाली शिरमा राख्दै विजयी हुने आशीर्वाद ग्रहण गर्दै आगामी दिनमा गाउँमैं सुव्यवस्थित अस्पताल बनाइदिनेलगायतका अपनत्वको वर्षात् गर्न थाले । यता मतदाता भने ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैं उम्मेदवारको चर्तिकला देखेर अक्क न बक्क थिए ।

विभिन्न कालखण्डमा राक्षस तथा असुरहरूले जपतप गरी देउतालाई खुशी पार्ने, वरदान पाउने र तत्पश्चात् देउतामाथि नै जाइलाग्ने जस्ता परिघटनाहरू धर्मग्रन्थहरूमा उल्लेख छन् । ‘विनाशकाले विपरीत बुद्धि’ भनेझैं वरदान प्राप्त गरेपछि असुरहरू आफूलाई ईश्वरभन्दा माथि ठान्थे । अन्ततः देउताद्वारा असुरहरूको सर्वनाश हुन्थ्यो ।

रावणले भवगान् शिवबाट प्राप्त गरेको वरदान कसरी दुरुपयोग गर्ने दुस्साहस गरे भने एक प्रसङ्ग यस्तो छ–

एकपटक नारदमुनि लङ्कामा पदार्पण गर्नुभयो । रावणले उनको सेवा सत्कार गरे । नारदमुनिले रावणसँग भन्नुभयो, “मैले सुनेको छु कि तपाईंले महादेवबाट वरदान प्राप्त गर्नुभएको छ ।” प्रतिउत्तरमा रावणले भने, “हो, मैले चाहें भने धर्ती हल्लाउन सक्छु ।” रावणले महादेवलाई कैलाश पर्वतसहित लङ्कामा ल्याउने विचार नारदमुनिसमक्ष व्यक्त गरे ।

योजनाअनुरूप एक दिन अहङ्कारी लङ्काधिपति रावण कैलाशतर्फ प्रस्थान गरे । कैलाश पर्वतलाई हातमा उठाउने बित्तिकै कैलाश पर्वत हल्लिन थाल्यो ।

भगवती सतीले महादेवसँग सोध्नुभयो, “हे जटाधारी १ यो कैलाश पर्वत किन हल्लिंदैछ ?” महादेवले भन्नुभयो, “रावणले हामीलाई लङ्का लैजाने प्रयत्न गरिरहेको छ ।” महादेवसँगै कैलाश पर्वतमाला हातमा उठाएपछि अभिमानी रावणलाई अति गर्व भयो । अब उपरान्त संसारमा आफ्नोलागि अरू केही असम्भव नहुने कुरा ठाने । रावणले पाइला सार्न खोजेपछि महादेवले आफ्नो भार बढाउन थाल्नुभयो । अतएव रावणको सन्तुलन डगमगायो । यद्यपि रावणको प्रयत्न जारी थियो ।

देवी सतीले श्राप दिंदै भन्नुभयो, “हे अहङ्कारी रावण, तिमी आजदेखि दानवमा गनिनेछौ । किनभने तिम्रो स्वभाव राक्षसतुल्य भएको छ र तिमी अहङ्कारी बनेका छौ ।”

रावणद्वारा सीतामाताको हरण, राम–रावण युद्ध, रामद्वारा रावणको वध तथा लङ्काको सर्वनाशलगायतका दृष्टान्त रामायणमा उल्लेख छ । हिन्दू धर्मग्रन्थहरूका अनुसार विविध कालखण्डमा देवशक्तिद्वारा राक्षस प्रवृत्तिको संहार भएका कयौं घटनाहरू छन् । समयको गतिसँगै आज विभिन्न आवरणमा दैत्य प्रवृत्ति हाबी छ ।

तुलनात्मकरूपमा संविधानले सकारात्मक प्रवृत्तिको स्थापना र नकारात्मक प्रवृत्तिको उन्मूलन गर्ने परिकल्पना गर्नु नै देवत्वको स्थापना र राक्षसत्वको उन्मूलन हो । यसै कारण संविधानले निर्वाचन प्रणालीद्वारा सत्यपथ स्थापित हुनुका साथै राष्ट्र अग्रपथमा चलायमान होस् भन्ने चाहन्छ ।

कुनै पनि बहानामा असुरी प्रवृत्ति चलायमान भयो भने राष्ट्रको अधोगति निश्चित छ ।

कृषि कार्यको लागि आवश्यक सिंचाइ, बीउ र मलको समस्या समाधान हेतु प्रत्येक वर्ष सत्ताको विरोध गर्ने किसानहरूको नियति जस्तै भएको छ । राम्रो अङ्कले उत्तीर्ण विद्यार्थी उच्च शिक्षाका लागि भौंतारिरहनुपरेको अवस्था छ भने युवाजमात धनार्जनका लागि पलायन हुने क्रम बढ्दो छ । भरपर्दो तथा सुलभ स्वास्थ्य उपचारको अभावमा आमनागरिकको अवस्था दयनीय छ । विकास निर्माणका परियोजना ठेकेदारहरूले सकार गर्ने र हात पारेपछि अलपत्र पार्ने ठेकेदारहरू मात्र होइनन्, यिनीहरूको पक्षपोषण गर्ने सत्ता वा कर्मचारीहरू नै असुरी प्रवृत्तिका द्योतक हुन् ।

मतदाताले उम्मेदवारसँग विभिन्न जिज्ञासा प्रकट गर्न चाहन्छन् । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यहरूको काम, कर्तव्य र अधिकार के के हुन् ? भन्नेबारे जान्न चाहन्छन् । उम्मेदवारसँग क्षेत्र विकासको स्पष्ट खाकाबारे अवगत हुन चाहन्छन् । तर यसबारे दल वा उम्मेदवार सबै मौनतुल्य छन् । कृषि, सडक, शिक्षा, स्वFस्थ्य जस्ता सुगारटान शब्दावली लिएर मतदाताकहाँ जाने अहिले होड चलिरहेको छ । खासमा यीमध्ये उम्मेदवारहरूसँग बुँदागतरूपमा ठोस कार्ययोजनाहरू के के छन् ? भन्नेबारे उनीहरू आफैं अनभिज्ञ छन् ।

उम्मेदवार तथा उनका सारथिहरूले मतदाताको जिज्ञासा समाधानभन्दा पनि मत माग्ने अभिलाषाले भरिपूर्ण देखिन्छन् । अर्जुनदृष्टि भएका उम्मेदवार टर्च बालेर पनि खोज्न मुस्किल छ । मतदाताको ह्दयमा अङ्कुरित जिज्ञासाको उत्तर दिनुभन्दा दबाउनेतर्फ बढी अग्रसर देखिन्छन् । मतदाताको जिज्ञासा ओठबाहिर निस्कनै दिन चाहँदैनन् । कार्यकर्ताहरूको घेराभित्र मतदाताहरूलाई निरीह बनाउने सिद्धान्त हाबी छ । अगाडि–पछाडि तथा दायाँ–बायाँ, चारैतिरबाट कोही पम्पलेट थमाउने त कोही छाप हेराउँदै मत माग्ने कोलाहलयुक्त शब्दध्वनिभित्र मतदाताको जिज्ञासा विलीन पार्न उद्यत छन् । यस्तो क्रियाकलापले जसरी भएपनि आफू निर्वाचित हुने र सत्ताभोग गर्ने नियत प्रबल छ । रामायणका पात्र रावणको अहङ्कारझैं उम्मेदवारहरूको छद्म प्रवृत्ति जगजाहेर छ । हात्तीको खाने दाँत भलै देखिंदैन तर देखिने दाँत खाने दाँत होइन भन्ने कुरा आमजनतालाई बोध छैन भन्ने होइन । निर्वाचनताका गठबन्धन गर्ने, एकले अर्काको कटाक्ष गर्ने र निर्वाचन सकिएपछि विजयी हुनेले सत्तालिप्तता तथा पराजित हुने वर्षात्को भ्यागुताझैं लुप्त हुने प्रवृत्तिले संविधानमा उल्लिखित मौलिक हकअधिकार कदापि पूर्ण हुन सक्दैन ।

अहङ्कारले अन्धकार निम्त्याउँछ भन्ने कुराको ताजा उदाहरण यहाँ उल्लेख गर्नु उत्तिकै महत्वपूर्ण हुनेछ । हिन्दी सिनेमाजगत्का सुप्रसिद्ध सुपरस्टार राजेश खन्नाबारे विरलै कसैलाई थाहा नहोला । उनी हिन्दी सिनेमाजगत्मा ‘काका’ उपनामले पनि चिनिन्थे । फिल्मको छायाङ्कनपछि उनी रातिको तीन बजेसम्म मद्यपान गर्थे । चार बजे खाना खान्थे । छायाङ्कनको निर्धारित स्थानमा बिहान दश बजे पुग्नुपर्नेमा अपराह्न तीन/चार बजे पुग्थे । वाक्कदिक्क भएर निर्माताले एक दिन भने, “काका, घडी हेर्नुहोस् ।” प्रसिद्धिको घमण्डमा चूर काकाले प्रतिउत्तर दिंदै भने, “मैले होइन, घडीले मेरो समय हेर्छ ।” निर्देशकले सो दिन छायाङ्कनको काम स्थगित गरे र भने, “जसले समयको कदर गर्दैन, उसलाई समयले पाठ सिकाउँछ ।”

पछि यस्तो समय आयो, जब काकासँग समय नै समय थियो । न फिल्मको प्रस्ताव थियो, न सुटिङ, न पत्नी, न छोराछोरी । आफ्नो पुरानो फिल्म हेरेर कहिले खुशी हुन्थे, त कहिले रोइरहन्थे । आज भौतिकरूपमा उनी छैनन् । तर इतिहासले रावण जस्तै उनलाई पनि अहङ्कारी पात्रको रूपमा दर्ज गरिसकेको छ ।

समय कसैको दास होइन । बितेको समय नै इतिहास बन्छ । इतिहासले मानिसलाई धेरै कुराको बोध गराउँछ । आज मतदातालाई छलेर वरदानमा मत पाइहाले पनि नियत सफा रहेन भने समयले अवश्य पाठ सिकाउनेछ । भोलि आफ्नै सन्ततिले आफैंलाई सराप्नेछन् । अहङ्कारी, लोभी, कपटी र बेइमान भनेर इतिहासको पानामा नाम र चरित्र दुवै दर्ज हुनेछन् ।

निर्वाचनको मूल मर्मलाई बेवास्ता गरी मतदाताको शक्ति आफूमा समाहित गर्ने होडमा कोहीभन्दा कोही कम छैनन् । लाखौं मतदाताको वरदान सीमित पात्र तथा दलमा अवशोषित हुनु नै निर्वाचन प्रणाली हो । शक्तिप्राप्त व्यक्ति वा दलले मतदाताबाट पाएको शक्तिको सदुपयोग गर्छन् कि दुरुपयोग, उनीहरूको कार्यशैलीमा निर्भर छ । निर्वाचन नजीकिएसँगै उम्मेदवारहरूको विगत र वर्तमान केलाउँदै मतदाताहरू छक्क पर्ने अवस्था छ ।

नितान्तरूपमा मङ्सिर ४ गतेसम्म मतदाताहरू उम्मेदवारहरूका लागि इष्टदेव, ग्रामदेव तथा कुलदेवझैं पूज्य रहनेछन् । स्मरण रहोस्, मतदाताले मतरूपी वरदान दिन सक्छन् भने धूप बालेर लामखुट्टेलाई धपाएझैं धपाउन पनि सक्छन् । कसले कति वरदान/मतदान पाउने हो, त्यो नितान्तरूपमा उम्मेदवारको चरित्र र संस्कारमा निर्भर हुने कुरा हो । छलकपट, खरीद–बिक्री तथा दारु–मासु जस्ता कुसंस्कारजन्य क्रियाकलापमाथि कानूनी उपचार हुने हो भने मात्र निर्वाचनको वास्तविक तस्वीर प्रकट भएको मानिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here