कुनै पनि क्षेत्र तथा स्थानका बासिन्दा पीडारहित छैनन् । व्यक्तिगत समस्या अनेक होला, सोको अलावा एकै प्रकृतिका क्षेत्रगत समस्याहरू धेरै छन् । जङ्गलछेउका बासिन्दा जङ्गली जनावरको आतङ्क भोगिरहेका छन् । राष्ट्रिय निकुञ्ज, आरक्ष वा राष्ट्रिय वनजङ्गलसँग जोडिएका बासिन्दाहरू हिंस्रक जङ्गली जनावर बाघ, भालु, हात्ती, गैंडालगायतका आक्रमणबाट ज्यान गुमाउने, अङ्गभङ्ग हुने भइरहेका छन् । त्यसैगरी, चौपायाको क्षति र बालीनालीको नोक्सानी भोग्न बाध्य छन् । त्यसैगरी, खोला–नदीनजीकका बासिन्दाहरू नदी कटान, डुबानबाट बर्सेनि आक्रान्त छन् । औद्योगिक क्षेत्र आसपास बस्नेहरू औद्योगिक प्रदूषण, छाइ तथा धूलोबाट पीडित छन् । खानाको थालमा समेत उद्योगको छाइ आइपुग्छ । उद्योग कलकारखानाद्वारा विसर्जित प्रदूषणका कारण जटिल रोगको शिकार बनेका उदाहरण धेरै छन् । उता राजमार्गछेउका बासिन्दा राम्ररी सुत्न पाउँदैनन् । तीव्रगतिमा गुड्ने सवारीसाधनको कारण घर हल्लिन्छ ।  दैनिक क्रियाकलापमा पनि कतिबेला सडक दुर्घटनामा परिने हो ठेगान छैन ।

सीमावर्ती छेउका बासिन्दालाई सीमा अतिक्रमणको चिन्ता छ । लालपुर्जा हातमा भएपनि जग्गा भने अर्को देशको सीमाभित्र परिसकेको हुन्छ । सानोतिनो मनमुटाव हुँदासमेत सीमामा झमेला, यता अपराध गरेर उता लुक्ने र उता अपराध गरी यता सुरक्षित हुन खोज्नेहरूसँग बचेर रहनुपर्ने अवस्था छ । मुलुकको बीच भागमा बस्नेहरूलाई पनि चयन छैन । मुलुकमा बन्द, हडताल, नाकाबन्दी वा बाहिरबाट आयात गरिने कुनै पनि सामग्रीको अभाव हुने बित्तिकै प्रत्यक्ष असर बीच भागका बासिन्दाहरूले भोग्नुपरिरहेका छन् । उता हिमाली क्षेत्रमा चीसोका कारण श्वासप्रश्वास तथा हाडनसाका रोगीहरू अकालमा मृत्युवरण गर्नुपरिरहेको छ । पहाडमा पहिरोको पीर । तराई–मधेसमा प्रचण्ड गर्मी, त्यसबाट सिर्जित विभिन्न रोगबाट पीडित छन् । उसो भए समस्यारहित वा कुनै पनि पीडामुक्त बासस्थान कहाँ छ त ? कहीं पनि छैन, जहाँ पनि छ । समस्या र सम्भावना सबैतिर हुन्छ । समस्यालाई मात्रै हेरेर आफूलाई पीडित ठान्नुभन्दा आफूभन्दा पीडामा परेको अर्को पक्षलाई हेर्न सक्नुपर्छ । समस्यालाई मात्रै हेर्ने हो भने मुलुकका सबै क्षेत्रका बासिन्दालाई सरकारले क्षतिपूर्ति दिनुपर्ने हुन्छ । गाउँको कुरा नगरौं, महानगरमा बस्नेहरू झन् पीडित छन् । कतै लामखुट्टेको टोकाइ, कतै कोलाहल, ध्वनि प्रदूषण त पर्यावरण असन्तुलन एवं अव्यवस्थित फोहोर तथा दुर्गन्धको पीडा छ ।

हरेक समस्याले सम्भावना बोकेको हुन्छ । जङ्गलनजीकका बासिन्दाले सुलभ र सहज काठ, घाँस, दाउरा, पानी, स्वच्छ हावा तथा स्वस्थ वातावरण उपभोग गर्न पाइरहेका छन् । पर्यापर्यटन प्रवर्धनको सम्भावना उतैतिर छ । नदी, खोला किनाराका बासिन्दा नदीजन्य पदार्थका मालिक हुन् । निर्माण सामग्री उनीहरूकै हातमा छ । त्यसैगरी, सीमाछेउका बासिन्दा, औद्योगित क्षेत्र, राजमार्ग, महानगर, हिमाल, पहाड, तराई–मधेसका बासिन्दाहरू पनि विभिन्न अवसरहरूका धनी छन् । फरक यति हो कि जो जुन क्षेत्रमा छ, उसले सोही क्षेत्रका स्रोत, साधन एवं सम्भावनाको बढी प्रयोग गर्न पाएका छन् । आआफ्ना क्षेत्रका सम्भावनाको जीवनोपयोगी रूपमा अधिकतम सदुपयोग गर्नका लागि नीति तथा कार्ययोजना निर्माण गर्न सो क्षेत्रका जनप्रतिनिधिमूलक संस्था एवं प्रतिनिधि दूरदृष्टि भएका र इमानदार हुनु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here