प्रस, निजगढ, १६ कात्तिक/
निजगढमा बुधवार अचानक उखुबालीमा आगलागी हुँदा १५ लाखभन्दा बढी मूल्यको उखु नष्ट भएको पीडित किसानहरूले बताएका छन् ।
निजगढ नगरपालिका–८ स्थित ८० बिघामा रहेको उखुबालीमध्ये हीरा थापामगरको एक बिघा र राम खत्रीको दुई बिघामा आगलागीका कारण जलेर उखुबाली नष्ट हुन पुगेको उखुधनीद्वय थापामगर र खत्रीले बताए । एक्कासि बुधवार दिउँसो करीब ३ बजे उखुबारीमा आगोको मुस्लो दन्किएको वरपरका स्थानीयले देखेपछि उखुबाली धनीहरूलाई खबर गरेका थिए । सो आगोलाई नियन्त्रणमा लिन जनपद प्रहरी, सशस्त्र प्रहरी, स्थानीय गाउँले र निजगढ नगरपालिकाको वारुणयन्त्रको सहयोगमा थप क्षति हुनबाट रोक्न सफल भएको घटनास्थल पुगेका बालीधनीहरूले जानकारी दिए । सो उखुबाली आसपासमा जमीन प्लटिङ गरी बाँझो छोडिएका कारण कोही कसैले सल्केको चुरोटको ठुटो मिल्काउँदा सुकेका झारपातमा आगो सल्किन पुगी सो घटना हुन गएको आशङ्का गरिएको छ ।
यता यस आगलागीका घटनाका बारेमा प्रहरीले अनुसन्धान गरी संलग्न दोषी पत्ता लगाइ क्षतिपूर्ति असुल उपर गरी कानूनी कारबाही गर्नुपर्ने पीडित किसानहरूको माग छ ।