प्रस, वीरगंज, ११ कात्तिक/
यसपटक दीपावली सकिएलगत्तै छठ पर्व शुरू भएको छ । दीपावली अन्तर्गत भाइटीकाको दिन छठ गर्नेहरूले घरआँगन सफा गरे । यसैगरी शुक्रवारदेखि छठ पर्व विधिवत् शुरू भएको छ ।
शुक्रवार छठ गर्नेहरूले बिहान नुहाएर चोखो शुद्ध खानेकुराहरू खाए । जसलाई ‘नहाय खाय’ भनिन्छ । आजको दिन खानामा लौकाको तरकारी अनिवार्यसरह थियो । त्यसैले बजारमा लौका महँगो पनि भयो ।
योसँगै बजारमा छठका सामग्रीहरू किनमेल पनि भइरहेको छ । दीपावलीदेखि वीरगंजको बजारमा छठ लक्षित कपडा, माटोको भाँडाको किनमेल भयो भने आजदेखि फलफूल र छठलाई आवश्यक बाँसबाट बनाइएका सामग्रीहरू ढक्की, नाङ्गलो, सुपली, छैटालगायत सामग्रीहरूको खरीददारी गर्नेहरूको भीड थियो ।
यसैगरी दीपावलीसँगै छठघाट सिङ्गार्ने कार्य भइरहेको छ । यस अघि भाइटीकाको दोस्रFे दिनबाट छठको तयारी गरिन्थ्यो भने तिथि जोडिएकोले दुवै पर्व गर्नेहरूलाई भ्याइ नभ्याइ भएको छ । छठघाट बनाउनेहरू व्यस्त छन् । सरसफाइ, सजावट र नदी, पोखरी सफा गर्न उनीहरू व्यस्त छन् । वीरगंजको छपकैया, घडीअर्वा, मुर्ली, नगवा, लक्ष्मणवा, रानीघाट र श्रीसिया नदीसँगको बस्तीहरूमा छठको तयारी तीव्र छ ।
योसँगै जिल्लाभरिका पालिकाहरूमा रहेका नदी, पोखरी, तलाउमा छठपूजाको तयारी भइरहेको छ ।
धर्मेन्द्र चौरसिया, पोखरिया/
पोखरिया नगरपालिका–१ वनकटवामा छठ पर्वको उपलक्ष्यमा शुक्रवार बिहान कलश यात्रा निकालिएको थियो । बाजागाजासहित निस्केको छठको कलश यात्रा पोखरिया बजार परिक्रमा गरी छठ घाट पुगेर समापन भएको थियो ।
यहाँ प्रत्येक वर्ष छठ पर्वको अवसरमा नहाय खायको दिन कलश यात्रा निकालिने गरेको वडाध्यक्ष प्रमोद गिरीले बताए । कलश यात्रामा नगरप्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रूबि ठाकुर, प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियार, लालबाबू गिरी, मनोज कुर्मी, भगवान कुर्मीलगायतको सहभागिता थियो ।
नरेश यादव, पर्सागढी/
छठपूजाको अवसरमा पर्सागढी नगरपालिकामा रहेका छठघाटहरूको सरसफाइ, सजावट कार्य भइरहेको छ । स्थानीयको सहयोगमा पोखरी, छठघाट स्थलको सरसफाइ कार्य भइरहेको छ भने टेन्ट लगाउने काम पनि अन्तिम चरणमा छ । आइतवार परेको सँझियाघाटलाई लक्षित गरेर छठघाट सजाउने कार्य यहाँको नवैवटा वडामा जारी छ ।